शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बाढी पहिरो अपडेट : बाढी पहिरोका कारण १४ जनाको मृत्यु, सात बेपत्ता

बाढी पहिरो अपडेट : बाढी पहिरोका कारण १४ जनाको मृत्यु, सात बेपत्ता

रोदिक खबर

८, आश्विन २०७७
  • 2.9K
    SHARES
  • बाढी पहिरो अपडेट :  बाढी पहिरोका कारण १४ जनाको मृत्यु, सात  बेपत्ता

    काठमाडौँ ।  पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण देशका धेरै जसो क्षेत्र प्रभावित भएका छन् । विभिन्न स्थानमा पहिरो गएको छ भने बाढीका कारण केही जिल्लामा मानवीय क्षतिसमेत भएको  छ । विभिन्न स्थानमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।  

    प्राप्त विवरणअनुसार  स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका १४ मा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ भने कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ । बाग्लुङमा पनि विपद्मा परेर एक जनाको ज्यान गएको छ ।

    लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ । 
    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ ।

    यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    बिहीबार राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । 

    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १८:४४:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको