खोटाङ। नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री तथा कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले राज्यका विद्यमान ऐन–कानुनमा समयानुकूल संशोधनको आवश्यकता देखिएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यले कानुन कार्यान्वयनका नाममा नागरिकमाथि गोली चलाउनेभन्दा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
राईले जंगली जनावरले मानिसको ज्यान लिँदा, घर भत्काउँदा वा किसानले लगाएको बाली नष्ट गर्दा समेत कानुनी बन्देजका कारण त्यसलाई मार्न नपाइने, तर लागुऔषध कारोबार तथा दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा राज्यले दर्जनौँ गोली चलाउने गरेको भन्दै प्रश्न उठाएका छन्।
‘जंगली जनावरले मान्छे मार्छ, गोली हान्न मिल्दैन। मान्छेको घर भत्काइदिन्छ, मार्न मिल्दैन। मान्छेले लगाएको बाली नाली खाइदिन्छ, सखाप पारिदिन्छ, मार्न मिल्दैन। तर यही हप्ता मात्र लागुऔषध कारोबारी र दुई पक्षीय झडप नियन्त्रण गर्न राज्यले मान्छेमाथि दर्जनौँ गोली प्रहार गरेको छ,’ राईले लेखेका छन्, ‘राज्यको गोलीबाट केही मान्छे मरे, केही घाइते भएका छन्। यो अत्यन्तै पीडादायी र दुःखद पक्ष हो।’ उनले राज्यको कानुन जनावरमैत्री हो कि मानवमैत्री भन्ने प्रश्नसमेत गरेका छन्।
जंगलमा जंगली जनावरका लागि पर्याप्त आहारा नहुँदा बस्ती पस्ने गरेको तर्क गरिएजस्तै मानिस पनि किन अवैध कारोबारतर्फ धकेलिन्छ भन्ने विषयमा राज्यले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ।
अवैध कारोबारलाई छुट दिनुपर्ने आफ्नो आशय नभएको स्पष्ट पार्दै राईले त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। तर त्यसका लागि गोली चलाउनु अन्तिम समाधान हुन नसक्ने उनको धारणा छ। ‘राज्य गोली हानिरहेको छ, तर समाधानउन्मुख छैन,’ उनले भनेका छन्, ‘राज्यको कानुनले अवैध बनाएका कुराहरूलाई अब राज्यले नै कानुन बनाएर वैधानिक बनाउनुपर्छ।’
राईले नागरिकमाथि गोली चलाउन राज्यकोषको रकम खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। ‘नागरिक मार्नका लागि राज्यकोष खर्च नगरौँ र भोको शरीरमाथि गोलीको वर्षा गरेर कानुन लागू गराउने बहादुरी बन्द गरौँ,’ उनले आफ्नो स्टाटसमा भनेका छन्।
