शुक्रवार, भाद्र २६ गते २०८३

प्लास्टिक र सिसाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण अभियानमा दिक्तेल रुपाकोट मझुवागढी

प्लास्टिक र सिसाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण अभियानमा दिक्तेल रुपाकोट मझुवागढी

रोदिक खबर

१३, श्रावण २०८३
  • 2.7K
    SHARES
  • प्लास्टिक र सिसाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण अभियानमा दिक्तेल रुपाकोट मझुवागढी

    खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण गर्दै जलवायुमैत्री र सभ्य नगर बनाउन तीन महिने अभियान सञ्चालन गर्ने भएको छ।

    नगरपालिकाले आगामी साउन १८ गतेदेखि ‘प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ औपचारिक रूपमा शुभारम्भ गर्ने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

    नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार नगरपालिकाको १५औँ नगरसभाबाट पारित निर्णयअनुसार सञ्चालन हुने अभियानको औपचारिक शुभारम्भ साउन १८ गते बिहान १० बजेर १३ मिनेटमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी गर्ने कार्यक्रम तय भएको छ। तीन महिनासम्म सञ्चालन गरिने अभियानको पहिलो चरण साउन १९ गतेदेखि लगातार १५ दिनसम्म सञ्चालन हुनेछ।

    अभियानअन्तर्गत नगरपालिकाका १५ वटै वडाका विद्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, धार्मिक तथा पर्यटकीय स्थल, बजार, चौतारा लगायतका सार्वजनिक स्थलमा सरसफाइ, प्लास्टिक तथा शिशाजन्य फोहोर संकलन तथा व्यवस्थापनसँगै व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

    नगर प्रमुख भट्टराईले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास तथा प्लास्टिक र शिशाजन्य प्रदूषण विश्वकै गम्भीर चुनौतीका रूपमा देखापरेको भन्दै वातावरण संरक्षण सरकारको मात्र नभई सबै नागरिकको साझा जिम्मेवारी भएको बताए।

    उनले नगरपालिकाले भौतिक पूर्वाधार विकाससँगै हरित विकास, जैविक विविधता संरक्षण र जलवायुमैत्री स्थानीय शासनलाई विकासको प्रमुख आधार बनाउँदै आएको उल्लेख गरे।

    नगरपालिकाले विश्व वातावरण दिवस, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, वृक्षारोपण, इको–वाक, सार्वजनिक सरसफाइ, विद्यालयस्तरीय वातावरण शिक्षा, प्लास्टिक तथा शिशा न्यूनीकरण र हरित पर्यटन प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    यसैक्रममा २०८३ वैशाख ४, ५ र ६ गते नगरपालिकाको नेतृत्वमा सम्पन्न अन्तर्राष्ट्रिय जैविक विविधता रेडपाण्डा–थार सम्मेलनले जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, हरित अर्थतन्त्र र दिगो पर्यटनका क्षेत्रमा नगरपालिकालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख भट्टराईको भनाइ छ।

    त्यसैगरी, नेपालकै पहिलो राष्ट्रिय बाँस सम्मेलन आयोजना गरी बाँसलाई हरित अर्थतन्त्र, जलवायु परिवर्तन न्यूनीकरण, हरित रोजगारी सिर्जना तथा प्लास्टिकको वातावरणमैत्री विकल्पका रूपमा विकास गर्न नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताए।

    नगरप्रमुख भट्टराईले हरित विकासप्रतिको प्रतिबद्धतालाई राष्ट्रिय बहसमा स्थापित गर्न आफूले २०८२ साउन ११ गतेदेखि बाँसको राष्ट्रिय नीति, बाँदर व्यवस्थापन, जलवायु परिवर्तन तथा प्लास्टिक एवं शिशाजन्य फोहोर व्यवस्थापन लगायत विषयमा सत्याग्रह सुरु गरेको स्मरण गरे।

    उक्त सत्याग्रह आठौँ दिन साउन १८ गते तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा १६ बुँदे लिखित सम्झौता भएपछि स्थगित गरिएको थियो। सोही सम्झौताको पहिलो वर्ष पूरा भएको अवसर पारेर नयाँ अभियान सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ।

    अभियानमार्फत प्लास्टिक र शिशाको प्रयोग घटाउँदै पुनःप्रयोग तथा पुनर्चक्रणलाई प्रोत्साहन गरिनेछ। साथै स्थानीय वातावरणमैत्री सामग्री, विशेषगरी बाँसको प्रयोगलाई प्राथमिकता दिइने नगरपालिकाको योजना छ।

    बाँसलाई कार्बन अवशोषण, हरित रोजगारी सिर्जना, वातावरण संरक्षण तथा प्लास्टिकको दिगो विकल्पका रूपमा प्रवर्द्धन गरिने नगर प्रमुख भट्टराईले बताए। ‘

    बाँस, बायोचार र जैविक कृषि, हरित समृद्धिको नयाँ संस्कृति’ भन्ने अवधारणालाई अघि बढाउँदै फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने र बायोचारमार्फत कार्बन संरक्षणमा योगदान पुर्‍याउने लक्ष्यसमेत अभियानले लिएको छ।

    अभियानमा गोर्खा ब्रुअरी प्रालि, गतिशील अभियान नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) खोटाङ, बेकारबाट आविष्कारलगायतका संघसंस्थालाई सहभागी गराइनेछ। आगामी दिनमा अन्य संघसंस्थालाई समेत अभियानमा जोड्दै लगिने नगरपालिकाले जनाएको छ।

    नेपाल पत्रकार महासंघ खोटाङलाई अभियानको मिडिया पार्टनरका रूपमा सहभागी गराइएको छ। नगर प्रमुख भट्टराईले अभियानलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, विद्यालय, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नगरवासीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

    ‘सरसफाइलाई संस्कार, वातावरण संरक्षणलाई नागरिक धर्म र जलवायुमैत्री जीवनशैलीलाई साझा अभियान बनाउन आवश्यक छ,’ उनले भने, ‘स्वच्छ नगर, हरित नगर निर्माण हाम्रो साझा संकल्प हो।’

    प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - १७:०६:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको