खोटाङ । खोटाङको दिक्तेलस्थित दिक्तेल बहुमुखी क्याम्पसमा मानव बेचबिखन रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विश्व मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा बिहीबार मानव बेचबिखन रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।
दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबहादुर राईको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले मानव बेचबिखनको अवस्था, यसको रोकथाम तथा नियन्त्रणका उपाय, मानव बेचबिखनबाट बच्ने उपाय तथा यसविरुद्ध अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिएका थिए।
सचेतनामूलक कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्चा, पम्प्लेट तथा ब्रोसरसमेत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
मानव बेचबिखन सामाजिक अपराध मात्र नभई मानव अधिकारमाथिको गम्भीर उल्लङ्घनसमेत भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षको सहकार्य र सचेतना आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।