खोटाङ। खोटाङ प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बिहीबार राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपहाडी लोकमार्गमा शंकास्पद अवस्थामा रोकिराखिएको प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट एक हजार ३१५ किलो गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा ट्रकको खानतलासी गर्दा चालक बस्ने भाग र पछाडिको डाला बीचमा फल्स बटम (गोप्य कक्ष) बनाएर लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजासहित ट्रकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको छ। घटनापछि ट्रकका चालक तथा धनी फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।