खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोबेलामा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले रिबन काटेर भवनको उद्घाटन गर्दै कार्यरत प्रहरीलाई खादा तथा माला लगाएर सम्मानसमेत गरेका थिए।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय तथा पूर्वाधार विकास कार्यालय, खोटाङको आयोजनामा भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको हो।
पूर्वाधार विकास कार्यालय खोटाङको ४० लाख ७८ हजार ३ सय ९० रुपैयाँ २५ पैसा लागतमा बासु कन्स्ट्रक्सन एन्ड सप्लायर्सले भवन निर्माण गरेको हो।
२०५१ सालमा दोर्पा–दोबेलामा स्थापना भएर स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्दै आएको प्रहरी चौकीले लामो समयपछि सुविधासम्पन्न आफ्नै भवन पाएको हो।
यसअघि भाडाको कच्ची भवनमा कठिन परिस्थितिमा सेवा दिँदै आएको प्रहरी चौकीका लागि नयाँ पक्की भवन निर्माण भएपछि प्रहरीको मनोबल बढ्नुका साथै नागरिकलाई प्रवाह हुँदै आएको शान्ति–सुरक्षा सेवा थप प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।
नवनिर्मित भवनमा महिला तथा पुरुष हिरासत कक्ष, शौचालयसहित आठवटा कोठा रहेका छन्। नयाँ भवनबाट प्रहरी कर्मचारीलाई काम गर्न सहज हुनुका साथै स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले प्रहरी सरकारको प्रतिनिधिका रूपमा नागरिकको आशा, भरोसा र सुरक्षाको केन्द्र रहेको बताइन्। उनले प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध हुँदा सेवा प्रवाहसँगै कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पर्ने धारणा राखिन्।
दोबेला प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई)को कमान्डमा ११ जनाको दरबन्दी रहे पनि हाल असईसहित ५ जना प्रहरी मात्र कार्यरत छन्।
सीमित जनशक्तिका बाबजुद स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न प्रहरी चौकीले निरन्तर सेवा दिँदै आएको छ।