खोटाङ, भदौ १२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब २ बजे भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना.५ त ४५५५ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका १४ वर्षीय दिवश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए। गम्भीर घाइते परियारलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा ४५ वर्षीय सबिन तिरुवा, ९ वर्षीय योनिस विक, ३५ वर्षीया बिमला विक, ३० वर्षीया लिला श्रेष्ठ, ५७ वर्षीया लुलादेवी विक, ५० वर्षीय राजन विक, ५१ वर्षीय रामबहादुर विक, ३४ वर्षीय सिताराम विक, १८ वर्षीय मन्दिप तिरुवा, २३ वर्षीय नबिन परियार, १२ वर्षीय न्युकेश तिरुवा, ३५ वर्षीय बुडिराम विक, २१ वर्षीया मनिका परियार, ४० वर्षीया बिना परियार, १४ वर्षीया दिपसना परियार, १८ वर्षीया निशा परियार, १७ वर्षीया चन्द्रकला विक, १७ वर्षीय प्रबिन विक र १६ वर्षीय युकेश तिरुवा रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये सबिन तिरुवा, योनिस विक र बिमला विकको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको छ।
सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर घटनास्थलमै रहेको र उठाउने पहल भइरहेको छ। दुर्घटनाका कारण सडकमा आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
