खोटाङ । नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री एवं कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले राजनीतिक दल र सञ्चारकर्मी डराउने, काप्ने वा लोभमा पर्ने अवस्था आए लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा शुक्रबार आयोजित नेपाल प्रेस युनियन खोटाङको आठौँ जिल्ला अधिवेशन तथा ११औँ साधारणसभा उद्घाटन गर्दै राईले लोकतन्त्र केवल शासन व्यवस्था नभई नागरिकको जीवन पद्धति भएको बताए।
उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल र सञ्चारकर्मी दुवै निर्भीक, जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए।
“जतिबेलासम्म राजनीतिक दल काप्दैनन्, डराउँदैनन् र लोभी हुँदैनन्, त्यतिबेलासम्म लोकतन्त्र बलियो हुन्छ,” उनले भने, “त्यसैगरी सञ्चारकर्मी पनि डराउनु, काप्नु र लोभमा पर्नु हुँदैन। राजनीतिक दल र सञ्चारकर्मी निर्भीक भए मात्रै नागरिकले सुसूचित हुने अधिकार पाउँछन्।”
राईले सञ्चारकर्मीले नागरिकका आवाजलाई राज्यसामु पुर्याउने र राज्यका गतिविधिबारे नागरिकलाई जानकारी गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
त्यसैले पत्रकारिता क्षेत्रलाई कुनै पनि किसिमको दबाब, प्रभाव र प्रलोभनबाट मुक्त राख्नुपर्ने उनको भनाइ थियो। लोकतन्त्रको रक्षा र नागरिकका अधिकार सुनिश्चित गर्न राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाजबीच निरन्तर सहकार्य आवश्यक रहेको राईले बताए।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत पक्ष भएकाले यसको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।