बिहिवार, कार्तिक १३ गते २०८३

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट गरियो

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट गरियो

रोदिक खबर

३१, भाद्र २०८३
  • 981
    SHARES
  • प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट गरियो

    खोटाङ, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम अवैध गाँजा नष्ट गरिएको छ ।

    गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरेर राखिएको अवस्थामा बरामद गरिएको करिब दुई करोड मूल्य बराबरको अवैध गाँजा प्रहरीले आज (बुधबार) नष्ट गरेको हो ।

    जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि परीक्षण गर्दा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

    प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच भागमा फल्स बटम बनाएर राखेको अवस्थामा अवैध गाँजा भेटिएको प्रहरीले जानकारी दिएको थियो ।

    दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको वालिङमा रोकेर राखिएको ट्रकमा गाँजा भेटिए पनि चालक वा अन्य कोही पनि भेटिएका थिएनन् ।

    गाँजा बोक्ने ट्रकको चालक फरार रहेको र गाँजा धनीको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुधाथोकीले बताए ।

    बेवारिसे अवस्थामा जङ्गलमा गाँजासहित भेटिएको ट्रकको धनीलाई भने, मङ्गलबार पक्राउ गरिएको प्रहरी जनाएको छ । महिनादिनअघि बरामद गरिएको गाँजा कानूनी प्रक्रिया पूरा गरेर बुधबार जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो ।

    सडकमा भेटिएका गाँजासहितको ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको थियो । सडकमा बेवारिसे अवस्थामा गाँजा लोड गरिएको ट्रक छाडेर फरार हुने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३१, २०८३ बुधवार - १७:३९:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको