खोटाङ । नेपाली कांग्रेस खोटाङले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि जिल्लाका दुवै प्रदेशसभा क्षेत्रमा संयोजक तोकेको छ।
नेपाली कांग्रेस जिल्ला अधिवेशन तयारी समितिका संयोजक रोजन राईले प्रदेशसभा क्षेत्र ‘क’ को संयोजकमा उद्धव राई र प्रदेशसभा क्षेत्र ‘ख’ को संयोजकमा वसन्त राईलाई मनोनयन गरी जिम्मेवारी दिएका हुन्।
समितिले २०८३ असोज ५ गते जारी गरेको छुट्टाछुट्टै पत्रमार्फत दुवैलाई प्रदेश क्षेत्र संयोजकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिएको छ।
आगामी असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनदेखि मंसिर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न हुने नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन उनीहरूलाई जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।
पत्रमा आफ्नो जिम्मेवारीअन्तर्गत प्रदेशसभा क्षेत्रभित्रका पार्टीका नेता, कार्यकर्ता तथा सम्बन्धित तहका समितिहरूसँग आवश्यक समन्वय र सहकार्य गरी महाधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।
त्यस्तै, महाधिवेशन तयारीसँग सम्बन्धित कार्यलाई व्यवस्थित रूपमा अघि बढाउँदै जिल्ला अधिवेशन तयारी समितिसँग निरन्तर समन्वय र सम्पर्कमा रही प्राप्त जिम्मेवारी तथा निर्देशनअनुसार काम गर्न पनि आग्रह गरिएको छ।
संयोजक राईले दुवै प्रदेश क्षेत्र संयोजकको सक्रियता, सहयोग र नेतृत्वदायी भूमिकाले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।

