खोटाङ, असोज १० । नेपाल निर्माण व्यवसायी संघ खोटाङले आफ्ना दुई पूर्वअध्यक्षलाई सम्मान गरेको छ। संघको शनिबार भएको छैटौँ जिल्ला अधिवेशन तथा १२औँ साधारणसभाको उद्घाटन कार्यक्रमको अवसरमा पूर्वअध्यक्षद्वय कुमार आचार्य र कर्णबहादुर खत्रीलाई सम्मान गरिएको हो।
संघको नेतृत्वमा रहँदा संस्थागत विकास, निर्माण व्यवसायीहरूको पेशागत हकहित तथा व्यवसायीका समस्या समाधानका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई सम्मान गरिएको नेपाल निर्माण व्यवसायी संघ खोटाङका महासचिव दिलचक्र राईले जानकारी दिए।
महासचिव राईका अनुसार संघको विकास र निर्माण व्यवसायीहरूको अधिकारका लागि योगदान पुर्याएका अग्रजलाई सम्मान गर्ने परम्पराले संस्थाप्रति उहाँहरूको योगदानको कदर हुनुका साथै नयाँ पुस्ताका व्यवसायीलाई समेत संस्थागत जिम्मेवारीप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले सम्मानपत्र हस्तान्तरण गरेका थिए।
अधिवेशन तथा साधारणसभामा संघको सांगठनिक गतिविधि, निर्माण व्यवसायीका समस्या, संस्थागत सुदृढीकरण तथा आगामी कार्ययोजनालगायतका विषयमा समेत छलफल गरिएको जनाइएको छ।