खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई वितरण गरेर सुरु गरेको छ।
चार दशकदेखि पत्रकारितामा सक्रिय आचार्यलाई पेन्सन वितरण गर्दै महासङ्घले ज्येष्ठ पत्रकारको सम्मान, सामाजिक सुरक्षा र योगदानको कदर गर्ने उद्देश्यले स्थापना गरेको कोषलाई कार्यान्वयनमा ल्याएको हो।
महासंघले आचार्यलाई साउन, भदौ र असोज महिनाको ९ हजारकाे चेक प्रदान गरेको हाे । २०१२ साल साउन २ गते दिक्तेलमा जन्मिएका आचार्य प्रेस स्वतन्त्रता सेनानी एवं खोटाङका वरिष्ठ पत्रकार हुन्।
महासङ्घको २०८३ जेठ ९ गते सम्पन्न १२ औँ साधारणसभाबाट पारित कोषसम्बन्धी व्यवस्था साउनदेखि कार्यान्वयनमा ल्याइएको शाखाका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिए।
उनका अनुसार प्रारम्भिक चरणमा कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने र निर्धारित मापदण्ड पूरा गरेका ज्येष्ठ पत्रकारलाई मासिक तीन हजार रुपैयाँ निवृत्तिभरण उपलब्ध गराउने योजना छ।
कोषको कार्यविधिअनुसार ६५ वर्ष उमेर पूरा गरेका र खोटाङमा कम्तीमा २५ वर्षदेखि निरन्तर पत्रकारिता गरेका योग्य पत्रकारले पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन्।
प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक तथा फोटो पत्रकारलगायतले तोकिएका सर्त पूरा गरेमा उक्त सुविधा लिन पाउने व्यवस्था गरिएको महासङ्घले जनाएको छ।
महासङ्घका पूर्वअध्यक्ष डम्बरसिं राईले लामो समयदेखि पत्रकारितामा योगदान पुर्याएका ज्येष्ठ पत्रकारको सम्मान र सामाजिक सुरक्षाका लागि पेन्सन कोष महत्त्वपूर्ण पहल भएको बताए।
पत्रकारितामा जीवनको लामो समय बिताएका अग्रज पत्रकारलाई जीवनको उत्तरार्धमा आर्थिक सहारा प्रदान गर्नुका साथै उनीहरूको योगदानको संस्थागत कदर गर्न यसले सहयोग पुग्ने उनको भनाइ छ।
कोषलाई व्यवस्थित, प्रभावकारी र दीगो रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकार र विभिन्न सहयोगी संस्थासँग सहकार्य गरिने महासङ्घले जनाएको छ।