बिहिवार, कार्तिक १३ गते २०८३

खोटाङमा चाडपर्व लक्षित ट्राफिक चेकजाँचमा कडाइ, बढी भाडा र क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि निगरानी

खोटाङमा चाडपर्व लक्षित ट्राफिक चेकजाँचमा कडाइ, बढी भाडा र क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि निगरानी

रोदिक खबर

२८, आश्विन २०८३
  • 540
    SHARES
  • खोटाङमा चाडपर्व लक्षित ट्राफिक चेकजाँचमा कडाइ, बढी भाडा र क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि निगरानी

    खोटाङ । चाडपर्वका बेला यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न खोटाङमा ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचलाई तीव्रता दिएको छ। सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै यात्रुमाथि हुने ठगी र सवारी नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले चेकजाँचमा कडाइ गरिएको हो।

    चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने तथा तोकिएको भन्दा बढी भाडा असुल्ने जस्ता समस्या हुन सक्ने भएकाले ट्राफिक प्रहरीले निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी हवलदार प्रभु श्रेष्ठले बताए ।

    चेकजाँचका क्रममा सवारी साधनले लिने भाडादर, सिट क्षमताभन्दा बढी यात्रु बोके–नबोकेको तथा चालकले ट्राफिक नियम पालना गरे–नगरेको विषयमा निगरानी गरिनेछ।

    सार्वजनिक तथा निजी सवारी साधनको समेत निरीक्षण गरी नियम उल्लङ्घन गर्ने चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ।

    चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले यात्रु तथा चालकलाई जिम्मेवार बन्न आग्रह गरेको छ।यात्रुले पनि तोकिएको भाडा मात्र तिर्न, क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधनमा यात्रा नगर्न र सवारी नियमको पालना गर्न आवश्यक छ।

    ट्राफिक प्रहरीले सुरक्षित यात्रा र सभ्य व्यवहार अपनाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ। सवारी चालक, यात्रु र सरोकारवाला सबैको सचेतना र जिम्मेवारीले मात्रै दुर्घटना न्यूनीकरण गरी चाडपर्वलाई सुरक्षित र सुखद बनाउन सकिने जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन २८, २०८३ बुधवार - ०९:२०:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको