बिहिवार, कार्तिक १३ गते २०८३

खोटाङका छ वटा योजनालाई बहुवर्षीय ठेक्काको स्रोत सहमति, ३७ करोड बढी बजेट

खोटाङका छ वटा योजनालाई बहुवर्षीय ठेक्काको स्रोत सहमति, ३७ करोड बढी बजेट

रोदिक खबर

३०, आश्विन २०८३
  • 883
    SHARES
  • खोटाङका छ वटा योजनालाई बहुवर्षीय ठेक्काको स्रोत सहमति, ३७ करोड बढी बजेट

    खोटाङ । खोटाङका छ वटा योजनालाई बहुवर्षीय ठेक्कामार्फत अघि बढाउन कोशी प्रदेश सरकारले स्रोत सहमति प्रदान गरेको छ। जिल्लाका दुई सडक, दुई पक्की पुल र दुई झोलुङ्गे पुल निर्माण तथा स्तरोन्नति योजनालाई बहुवर्षीय ठेक्कामार्फत अघि बढाउन कोशी प्रदेश सरकारले स्रोत सहमति प्रदान गरेको हो।

    असोज २८ गते प्रदेश सरकारले यी छवटा योजनाका लागि कुल ३७ करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको स्रोत सहमति दिएको छ। बहुवर्षीय ठेक्काको स्रोत सहमति प्राप्त भएसँगै जिल्लाका महत्त्वपूर्ण पूर्वाधार योजनाहरू कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने जनाइएको छ।

    कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आफू मन्त्रीको जिम्मेवारीमा रहँदा बजेट विनियोजन गरी यी योजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने प्रक्रिया सुरु गरेको बताएका छन्।

    उनले खोटाङको पूर्वाधार विकासलाई गति दिन सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै स्रोत सहमति प्रदान गरेकोमा प्रदेश सरकारप्रति आभार व्यक्त गरेका छन्।

    स्रोत सहमति प्राप्त योजनामध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका क्षेत्रमा पर्ने दिक्तेल अस्पताल चोकदेखि साप्सुखोलासम्मको सडक कालोपत्रेका लागि १० करोड, साकेला गाउँपालिकामा पर्ने साप्सुखोला–मातिम–मानेभञ्ज्याङ सडक कालोपत्रे योजनाका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ।

    यस्तै, केपिलासगढी गाउँपालिका–१, फेदीमा छामुवा–तापखोला दोभान हुँदै फेदी तपस्वीदेखि सुम्देसम्म जोड्ने झोलुङ्गे पुल निर्माणका लागि १ करोड १६ लाख, फेदी तोमानेदेखि छेम्सुनेसम्म जोड्ने नोक्ति खोला झोलुङ्गे पुल निर्माणका लागि ४५ लाख ३६ हजार रुपैयाँ छुट्याइएको छ।

    पक्की पुल निर्माणका लागि साकेला गाउँपालिकाको गिद्धे दोभानस्थित साप्सुखोलामा सडक पुल निर्माणका लागि ८ करोड ५२ लाख ५५ हजार, केपिलासगढी गाउँपालिका–१, फेदीमा तापखोला सडक पुल निर्माणका लागि ८ करोड ९३ लाख ६३ हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको जनाइएको छ।

    पूर्वाधार विकासका दृष्टिले पछाडि परेको खोटाङमा केही महत्त्वपूर्ण योजनाहरू भने बहुवर्षीय योजनामा समावेश हुन नसकेको पूर्वमन्त्री राईले उल्लेख गरेका छन्। छुटेका योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै उनले जिल्लाको समग्र पूर्वाधार विकासका लागि थप पहल आवश्यक रहेको बताएका छन्।

    प्रकाशित मिति :आश्विन ३०, २०८३ शुक्रवार - १९:११:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको