नदीजन्य सामग्री उत्खननमा रोक 

नदीजन्य सामग्री उत्खननमा रोक 

रोदिक खबर

२, भाद्र २०७७
  • 3.4K
    SHARES
  • नदीजन्य सामग्री उत्खननमा रोक 

    खोटाङ । खोटाङको साकेला गाउँपालिकाले स्थानीय खोलाबाट मनोमानीढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ ।

    स्थानीय साप्सु खोला र तावा खोलाबाट मनोमानी ढंगले नदीजन्य खानी उत्खनन भइरहेको पाइएपछि गाउँपालिकाले प्रकृया पुरा गरेर मात्र ढुंगा, गिटी र बालुवा झिक्नका लागि स्वीकृति दिने व्यवस्था मिलाउन लागेको हो ।

    ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) को काम भइरहेको अवस्थामा केही व्यक्ति/समुहले मनोमानी ढंगले नदीजन्य सामग्री निकालिरहेको पाइएकाले रोक लगाइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।

    निजी घर तथा विकास निर्माणको काममा भने गाउँपालिकाको स्वीकृति लिएर तोकिएको राजस्व बुझाएर ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री निकाल्न पाइने जनाइएको छ । 


    साप्सु खोलाले छोएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, साकेला गाउँपालिका– २ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा नदीजन्य सामग्रीको खानी रहेको छ ।

    यस्तै, तावा खोलाले छोएको साकेला गाउँपालिका–३ खिदिमा, साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिममा नदीजन्य खानी रहेको छ । ‘यसअघि समझदारीमा दुई चौमासिक ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री निकाल्ने काम गरिएको थियो । तर, अहिले मनोमानी ढंगले खानी उत्खनन गरिरहेको जानकारी आएको छ,’ गाउँपालिका अध्यक्ष खड्काले भने, हाल आईईको काम पनि भइरहेको छ ।

    त्यो आइइ तयार भएर पास भएपछि खानी उत्खननका लागि ठेक्का आव्हान गर्ने तयारी गरिरहेका छौँ । निर्माण सामग्री चाहिए गाउँपालिकाको स्वीकृति लिएर तोकेको राजस्व बुझाएर निकाल्न पाइने व्यवस्था छ ।’ गाउँपालिकाको सूचनालाई बेवास्ता गरी नदीजन्य सामग्री संकलन तथा उत्खनन गरेको पाइए कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ । 

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १४:२७:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको