खोटाङ । खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ । कोभिड–१९ का कारण अवरुद्ध भएको विमानस्थलमा शनिवार नेपाल वायुसेवा निगमको जहाजले उडान भरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने बिमानस्थलमा हरेक शनिबार र बुधबार उडान हुने नेपाल वायुसेवा निगम खानीडाँडा स्टेशन ईन्चार्ज नरेन्द्र राईले बताए ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएसँगै खानीडाँडा विमानस्थलमा उडान ठप्प भएको थियो ।
जिल्लामा तीन वटा बिमानस्थल भएपछि साविकको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरेको छ ।
यस्तै, वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको छ । तर, जिल्लाकै पुरानो विमानस्थल लामीडाँडा बिमानस्थलमा उडानका लागि भने निगमले उडान तालिका सार्वजनिक गरेको छैन ।
रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा बिमानस्थल रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र ओखलढुंगाका स्थानीयले उपयोग गर्दै आएका छन् । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थल २०७६ साल जेठमा कालोपत्रे गरिएको थियो ।