काठमाडौँ । आकस्मिक रुपमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही निकायहरुमा नियुक्ति गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।
केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।
यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो। अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो।
सामान्यतया सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक प्रधानन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ११ बजेका लागि बोलाएका थिए।
सत्तारुढ नेकपाको सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले बैठक राखेको चर्चा भएपनि मन्त्रिपरिषद्मा त्यसबारे कुनै छलफल नभएको महिला बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले जानकारी दिए।
उनले भने, ‘आज त्यस्तो विशेष एजेण्डा केही थिएन। केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएका छन्।’ मन्त्रिपरिषद् बैठकअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। मन्त्रिपरिषद् पुनः गठनबारे ओली–दाहालबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ।