खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी मानसिक रोगबाट पीडित मकालुमायाँ राई मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
मानसिक सन्तुलन बिग्रेका कारण गत असार ११ गते ललितपुरको मानसिक अस्पतालमा पु¥याइएकी २९ वर्षीय मकालुमायाँलाई सचेत नागरिक सेवा समाज बराहपोखरीले आर्थिक सहयोग गरेको हो ।
बराहपोखरी गाउँपालिका घर भइ हाल स्वदेश तथा विदेशमा विभिन्न रोजगारमा संलग्न युवा आवद्ध समाजले निम्न आर्थिक अवस्था भएका मकालुमायाँलाई उपचार खर्च स्वरुप १ लाख २१ हजार सहयोग गरेको हो ।
समाजका अभियान्ता प्रकाश बन्जराको संयोजकत्वमा संकलन गरिएको रकम असोज १६ गते मानसिक रोगी मकालुमायाँको श्रीमान ताराबल राना मगरलाई घरैमा पुगेर हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष प्रकाश खपांगी मगर, प्रवक्ता निबहादुर खपांगी मगर, समाजको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित उपसमितिका महासचिव मनिराज मगरको उपस्थितिमा रकम हस्तान्तरण गरिएको जनाइएको छ ।
स्वास्थ्यमा सामान्य सुधार भएपछि डिस्चार्ज पाएको केही समयपछि मकालुमायाँलाई समाजले उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको समाजका सल्लाहकार कैलास श्रेष्ठले बताए । डिस्चार्ज पाएर घर फर्काइए पनि मकालुमायाँको स्वास्थ्यमा अझै सुधार आइसकेको छैन । उनलाई पुःन जाँचका लागि अस्पतालले समय दिएको आफन्तले बताएका छन् ।
मकालुमायाँको उपचार व्यवस्थाका लागि समाजले ‘मकालुमा बचाउ अभियान’ संचालन गरेको थियो । आर्थिक अभावकाबीचमा अस्पताल लगेर फर्काइएकी मकालुमायाँको थप उपचारका लागि समाजले आर्थिक सहयोग जुटाएको जनाएको छ ।
सचेत नागरिक सेवा समाजले यसअघि लडेर खुट्टा भाँचिएकी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी ११ वर्षीय मंगली मगरको उपचारका लागि १ लाख ३० हजार सहयोग गरेको थियो ।
बराहपोखरी गाउँपालिकाभित्रका स्वदेश तथा विदेशमा रहेका युवाले सामाजिक हितका काम गर्ने लक्ष्यकासाथ भर्चुअल तथा फेसबुकका माध्यमबाट सचेत नागरिक सेवा समाज स्थापना गरेको हो ।