खोटाङ । बालसेवा समाज नेपाल नेर्पा खोटाङको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम सम्बत २०५२ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा (साविकको नेर्पा–३० मा स्थापना गरिएको बालसेवाको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको हो । बालसेवा समाजका पूर्वअध्यक्ष एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालसेवाको गत आर्थिक वर्षको प्रगती विवरण तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गत आर्थिक वर्ष करीब ३ करोड बराबरको खर्च गरेको समाजले आगामी आर्थिक वर्ष करीब १ करोडको ५० लाखको बजेट प्रस्तुत गरेको छ ।
कार्यक्रममा बालसेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलले क्रिष्टिएन एड नेपालको सहयोगमा सञ्चालनमा रहेको शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता (वि फिल) परियोजनामार्फत कोभिड–१९ को महामारीमा परेका १ हजार ४४१ परिवारलाई खाद्यान्न तथा सरसफाईका सामग्री वितरण गरिएको, क्वारेन्टाइन व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ५० सेट मेडिकल बेड, खाद्यान्न र सरसफाईका सामग्री हस्तान्तरण गरिएको जानकारी दिएकी छन् ।
यस्तै, परियोजना अन्तरगत पाँच वटा बहुजल उपयोग प्रणाली आयोजनाबाट १४८ घरधुरी लाभान्वित भएको, अगुवा अनुभवी कृषक तयारीका लागि २६ जना अनुभवी कृषकलाई तालिम दिइएको, दुई वटा प्रशोधन, ब्राण्डिङ र प्याकेजिङ उद्योग स्थापना गरेर मकैको च्याँख्ला, फापरको पिठो, गुन्द्रुक आदिको ग्रेडिङ सुरु गरिएको जानकारी दिइएको छ ।
अध्यक्ष भुजेलले जिल्लाका १७९ घरधुरीले ४ हजार ६१५ बोट कागती, १ हजार बोट एभोकाडो, १ हजार ८०० बोट सुन्तला, १ हजार ८४० बोट किवीको विरुवा लगाएर व्यवसायिक फलफूल उत्पादन सुरु गरेको, ५० वटा गोठ निर्माण तथा सुधारको कार्य भइरहेको, करिव ९९५ रोपनीमा मकै खेती गर्नका लागि ८५ घरधुरीलाई बीउ वितरण गरिएको, दुई वटा संकलन केन्द्र निर्माण गरिएको, व्यवसायिक तालिम लिएर ४८ जनाले १७ वटा पोखरी निर्माण गरेर माछा पालन र १७ जनाले बंगुर र १५ जनाले बाख्रापालन सुरु गरेको बताएकी छन् । परियोजना अन्तरगत २९ वटा समुह दर्ता गरी कानुनी मान्यता प्रदान गरिएको, परियोजनाको सहयोगमा विभिन्न व्यवसाय गर्ने १५१ जना उद्यमी तयार भएको, १५२ जनालाई मेलमिलाप तालिम प्रदान गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामा वडा स्तरीय मेलमिलाप समिति गठन गरिएको, महिला तथा पुरुष समेत गरी २१ जना हिंसा पिडितले जीविकोपार्जन पुःर्नस्थापना सहयोग पाएपछि व्यवसायिक भएको समाजको प्रगती विवरणमा उल्लेख छ ।
यस्तै, हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत ६८ प्रतिशत युवा सीप सिकेर गएको, विदेश गएकामध्ये ७५ प्रतिशतले घरपरिवारलाई कागजातको फोटोकपी छाडेको, ४३ जनाले सीप र तालिम प्राप्त गरेको, वैदेशिक रोजगारको क्रममा मृत्यु र अंगभंग भएका व्यक्तिका ३७ जना वालवच्चालाई छात्रावृत्ति प्राप्त गर्न सहजीकरण गरेको, ३६ वटा केशमा कानूनी सहायताको लागि सहजीकरण गरेको, गन्तव्य मुलुकमा अलपत्र परेका ४ वटा केशमा उद्धार गर्न सहजिकरण गरेको, बैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट ५ मृतकका परिवारलाई ७ लाख २१ हजार ९०६ क्षतिपुर्ति प्राप्त गर्न सहजीकरण गरेको जानकारी दिइएको छ ।
अध्यक्ष भुजेलले घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने पाँच वटा गाउँपालिकामा लामो, मध्यम र छोटो गरी ३ किसिमका तालिम सञ्चालन गरिएको, दलित, गरीब तथा महिलालाई लक्षित गरी १५३ जना नयाँ उद्यमी सिर्जना गरिएको र १०९ जना उद्यमीलाई स्तरोन्नतीका लागि सहयोग प्रदान गरिएको जानकारी दिएकी छन् ।
सस्तो ब्याजमा कर्जा प्रवाह गरी उद्यमी सिर्जना गर्नमा प्रोत्साहन गर्ने दुई सहकारीलाई बालसेवाले साधारणसभाको अवशरमा अनुदान प्रदान गरेको छ । बालसेवाले लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थालाई ४ लाख र खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थालाई २ लाख अनुदान उपलव्ध गराएको हो ।
अनुदान वापतको चेक मेयर रिजाल र गैसस महासंघका जिल्ला अध्यक्ष दानबहादुर राईले सहकारीलाई हस्तान्तरण गरेका छन् । वि फिल परियोजनाले गठन गरेका २९ कृषक समुहलाई सहकारीको शेयर सदस्यता वितरण र समुहलाई सस्तो व्याज दरमा कर्जा प्रवाह गरेर उद्यमशिलता विकासमा प्रोत्साहन गर्न सहकारीलाई अनुदान प्रदान गरिएको बालसेवाका कार्यकारी निर्देशक युवराज रिजालले जानकारी दिए ।
अनुदान पाएका सहकारीले कृषक समुहले उत्पादन गरेका कृषि उपजको जिम्मा लिने, नियमित नगद जम्मा गर्न नसक्ने किसान तथा उद्यमीले सहकारीमा कृषि उपज बुझाउने र बजार भाउ निर्धारण गरी किसानको खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाउने छन् ।
यससँगै आफुले उत्पादन गरेको अन्न, तरकारी र फलफुल सहकारीमा लगेर नून, तेल, चिनी लगायतका उपभोग्य वस्तुसँग साट्न पाउने प्रबन्ध मिलाइएको कार्यकारी निर्देशक रिजालले बताए ।