खोटाङ । धान फल्ने उर्वर खेतमा केराको बिरुवा रोप्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका फौदसिं कार्की छिमेकमै हाँसोको पात्र बनेका थिए ।
हुन पनि उनले हिउँदे र वर्षे धान उत्पादन हुने उर्वर खेतमा केराको ५० बोट बिरुवा रोपेका थिए । तर, अहिले त्यही केरा खेती फौदसिंको आयआर्जनको राम्रो माध्यम बनेको छ । काठ्माण्डौंमा १८ वर्ष विताएर २०६७ सालमा गाउँ फर्किएका कार्कीले २०७० सालमा लुलीमास्थित खेतमा वीलियम हाइब्रिड जातको केरा खेती सुरु गरेका हुन् ।
\सुरुमा ५० बोट लगाउँदा उत्पादन राम्रो दिन थालेपछि कार्कीले हाल करिब पाँच रोपनी खेतमा केराको साँढे चार सय बोट हुर्काएका छन् । उनले खेतसँगै रहेको पाखो बारीमा समेत चार÷पाँच सय बोट केरा विस्तार गर्ने तयारी गरिरहेका छन् ।
बगानमा कम्तीमा एक हजार बोट केरा हुर्काउने उनको लक्ष्य छ । खर्च कटाउँदा पनि हाल केरा खेतीबाट वार्षिक डेढ लाख बचत हुने गरेको कार्कीले बताए ।
‘यही खेतमा धान, गहुँ र मकै लगाउँदा घाँस सहित वार्षिक ४०÷४५ हजार आम्दानी हुन्थ्यो, लेवर कस्ट त्योभन्दा बढि पथ्र्यो,’ कार्कीले भने, ‘अहिले केराबाट सबै खर्च कटाउँदा पनि वर्षमा डेढ लाख बचत भइरहेको छ । आम्दानीका हिसावले आकाश पातालकै फरक पर्दो रहेछ ।’
नगदे बालीकारुपमा लगाइने केरालाई न खडेरीले अशर पार्छ न वर्षाले । त्यही कारण अन्य बालीनालीको तुलनामा केराको आम्दानी बढि हुने कार्की बताउँछन् । त्यसमाथि दुधकोसी किनारभन्दा केही माथि छ उनको केरा बगान । टाढाबाटै उनको केराको हरियो बगान देख्न सकिन्छ । बगानमा उत्पादन भएका केराका लागि फौदसिंले बजार खोज्न परेको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने बाहुनीडाँडाको कदुवामा उनले केराको लसी उद्योग सञ्चालन गरिरहेका छन् ।
अधिकांश केरा लसी उत्पादनमा खपत हुने गरेको छ । विशेषगरी खोटाङ तथा त्रि–धार्मिकस्थल हलेसी भित्रिने र बाहिरिने यात्रु उनका लसीका ग्राहक हुन् । उनले उत्पादन गरेका लसीको स्वाद लिनकै लागि कतिपय ग्राहक गाडी रोकेर पशलमा बिसाउने गरेका छन् ।
त्यस बाहेक गाउँघरमा हुने वैदिक कार्यमा केरा खपत हुने गरेको कार्कीले बताए । कतिपय ओखलढुंगातिरबाट पनि केराको माग आउने गरेको छ । ‘केराको उत्पादन पनि राम्रो छ, आम्दानी पनि राम्रो छ । बजारमा माग धान्नै गा¥हो छ,’ कार्कीले भने, ‘पशलमा देखाएर राख्दा नपुगेर छोपेर राख्नुपर्ने अवस्था छ ।’
काठ्माण्डौं बसाईकाक्रममा गाउँमा सम्भावना देखेर घर फर्किएका कार्कीले २०६८ सालमा जिष्ट कृषि फर्म स्थापना गरेर वनजन्य रुख एबं घाँसको बेर्ना, फलफुल र तरकारी उत्पादन सुरु गरेका थिए । सुरुमा घाँस तथा फलफुलको नर्सरी उत्पादन सुरु गरेका कार्कीले केरा खेतीलाई पनि विस्तार गरेका हुन् ।
कार्कीले बाहुनीडाँडाको कदुवामा भाडामा जग्गा लिएर घाँस तथा फलफुलको नर्सरी तथा तरकारी खेती गर्दैआएका छन् । उनको मेहनतलाई कदर गर्दै २०७१ सालमा तत्कालिन जिल्ला कृषि बिकास कार्यालयले उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान गरेको थियो ।