एउटै वडामा पाँच जनालाई कालाजार 

एउटै वडामा पाँच जनालाई कालाजार 

रोदिक खबर

४, भाद्र २०७७
  • 2.9K
    SHARES
  • एउटै वडामा पाँच जनालाई कालाजार 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारको संक्रमण देखा परेको छ । हालसम्म बाहुनीडाँडाका पाँच स्थानीयालाई कालाजार लागेको र उपचारपछि घर फर्किसकेको स्वास्थ्य चौकी बाहुनीडाँडाका अहेव मदन पण्डितले बताए । सबैजना फरक–फरक समयमा उपचारबाट फर्किएपछि मात्र कालाजार लागेको विषयमा जानकारी भएको स्वास्थ्यचौकीले जनाएको छ । 


    आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र चालु आर्थिक वर्ष एक जनालाई कालाजार भएको रेकर्ड राखिएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । तराईमा देखिने कालाजारबाट बिरामी हुनेमा १२ वर्षका बालिकादेखि ५९ वर्षका बृद्धसम्म छन् ।

    पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणकाक्रममा कालाजार भएको पूष्टि भएको जनाइएको छ ।

    यस बारेमा स्वास्थ्य कार्यालय र प्रदेशलाई पनि जानकारी गराइसकिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले भने कालाजारको आशंकामा एक जनालाई मात्र अन्यत्र पठाइएको बताए । 


    कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने गरेको छ । कालाजार लागेपछि अन्यत्र जानुपर्ने वाध्यता अन्त्यका लागि प्रभावित क्षेत्रका नागरिकको हितका लागि नगरपालिकामै परिक्षण गर्ने र उपचार गर्ने व्यवस्था मिलाइनुपर्ने बाहुनीडाँडाका शिक्षक दिलीप राईले बताए । 

    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - २०:२९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको