माथिल्लो सगरमाथाका तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा आलु मूल्य आकाशिएको छ ।आलु उत्पादन हुने सिजनमा डढुवा रोग लाग्नाले आलु उत्पादन घटेपछि तीनै जिल्लामा आलुको मूल्यमा अहिले सम्मकै बढि आकाशिएको हो ।
खोटाङ जिल्लामा आलुको मूल्यमा बृद्धि भएको छ ।
विगतका वर्षमा यो सिजनामा प्रतिकेजि ६० रुपैँया पर्ने आलु यो वर्ष ९० देखि एक सय रुपैँया प्रतिकेजि पुगेको छ । जिल्लाका १० वटै स्थानिय तहमा आलु उत्पादनमा गिरावट आएपछि मूल्यमा बृद्धि भएको किसानको भनाई छ ।
यस्तै, सोलुखुम्बुमा विगतका वर्षको यो समयमा प्रतिकेजि ४० देखि ७० रुपैँयासम्म पर्ने आलु अहिले प्रतिकेजि १ सय रुपैँया रहेको व्यापारी प्रेमकुमार राईले बताए । राईका अनुसार कृषकले नै महंगो मूल्य तोक्ने भएकाले बजार मूल्य पनि बढेकोे हो ।
उता, ओखलढुंगामा अघिल्लो वर्ष प्रतिकेजी ५० रुपैँयामा किनबेच भइरहेको आलु यसवर्ष १ सय २० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।
जिल्लाको २ हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा उत्पादन गरिँदै आएको आलु कम फलेपछि माग अनुसारको आलु स्थानीय बजारमा पाइन छाडेको स्थानीयको भनाइ छ । गएको बर्ष निरन्तर पानी परेकाले आलु उत्पादनमा गिरावट आएको बताइएको छ ।