खोटाङ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खोटाङका व्यवसायी राजेन्द्र लयालुले उम्मेदवारी दिएका छन् ।
आगामी मंसिर ११ देखि १३ गतेसम्म काठ्माण्डौंमा हुने नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ निर्वाचनका लागि लयालुले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।
लयालुले चन्द्रप्रसाद ढकालको टिमबाट जिल्ला नगर उद्योग वाणिज्य संघकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए । सामाजिक व्यक्तित्वको छवी बनाएका लयालु खोटाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
लयालुलाई वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी गराउनका लागि खोटाङ उद्योग वाणिज्य संघले शुक्रवार बिहान होटल इन्द्रेणीमा चुनावी अभियान तथा शुभकामना कार्यक्रम गरेको छ ।

संघले वाणिज्य संघका पदाधिकारी तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा गरिएको चुनावी अभियान तथा शुभकामना कार्यक्रममा केन्द्रीय सदस्यको उम्मेद्वारी दिएका लयालुलाई फूलमाला, खादा र अविर लगाएर विजयको अग्रिम शुभकामना दिएको छ ।
वाणिज्य संघले लयालुलाई केन्द्रीय सदस्यमा विजय गराउनका लागि सबै निकायलाई सहयोग गरिदिन पनि आग्रह गरेको छ ।
निजी क्षेत्रको हकअधिकार सुनिश्चित गर्दै समय सापेक्ष बनाउने प्रयास र पहलका लागि वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिइएको लयालुले बताए ।
https://www.youtube.com/watch?v=2oCjfpQ8oPw