खोटाङ । ‘किरात पहिचान’ नामक ऐतिहासिक वृत्तचित्र सार्वजनिक गरिएको छ । किरात प्रज्ञा परिषद सदस्य तथा किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष सालिक शातासकको खोज संकलन र निर्देशनमा तयार गरिएको वृत्तचित्रको शनिवार सार्वजनिक गरिएको हो ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङको व्यवस्थापनमा जिल्ला समन्वय समितिको तालिम हलमा कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ ले वृत्तचित्र सार्वजनिक गरेका हुन् ।

एक घण्टा पाँच मिनेटको वृत्तचित्रमा आदिबासी किरात पहिचानका लागि गरिएका बिद्रोहहरु, आन्दोलनको ऐतिहासिक शृङ्खलाहरु, महत्वपूर्ण संघर्षहरु, संविधानमा प्रदत्त गरेका संवैधानिक व्यवस्था, विगतदेखि वर्तमानसम्म प्राप्त भएका उपलब्धिहरु र अबको पहिचानी आन्दोलनको बाटो कतातिर हो त ? भन्ने विषयहरु समेटिएको वृत्तचित्रका निर्देशक राईले बताए ।
सार्वजनिक भएको वृत्तचित्रमाथि किरात प्रज्ञा परिषदका सदस्य भोगिराज चाम्लिङले टिप्पणी गरेका थिए । ‘किरात पहिचान’ का लागि वृत्तचित्रको महत्वपूर्ण भूमिका रहने तथा किरात पहिचान पाउनका लागि आन्दोलन गर्नमा वृत्तचित्र कोसेढुंगा सावित भएको चाम्लिङले उल्लेख गरे ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङका अध्यक्ष हातीराम राईको सभापतित्वमा भएको वृतचित्र सार्वजनिक कार्यक्रममा जिल्ला समन्यव समिति खोटाङका प्रमुख ववि चाम्लिङ, नेपाल कम्युनिष्ट पार्टी खोटाङका सचिव रामप्रसाद दंगाल, जनता समाजवादी पार्टी खोटाङका उपाध्यक्ष पिके खम्बु, राप्रपा खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राई, किरात राई यायोक्खाका केन्द्रीय सदस्य अन्जना राई, किरात पत्रकार महासंघका केन्द्रीय अध्यक्ष भीम राई, गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दानबहादुर राई लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दृष्टिकोणको अभावमा पार्टीका शीर्ष नेताहरु किरात प्रदेश बनाउने पक्षमा नरहेको र कतिपय जिम्मेवारी निकायमा रहेका किराती भएर पनि किरात पहिचानको पक्षमा नउभिनुले किरात प्रदेश नामाङ्कनमा समस्या आएको बताएका थिए । किरात पहिचानको सुरुदेखि अहिलेसम्मका दृश्यहरु प्रष्ट पार्ने वृतचित्रलाई प्रचार गर्नमा पछि नपर्न पनि आग्रह गरे ।