खोटाङ । आगलागी भएको फर्निचर उद्योगलाई टोलबासीले आर्थिक सहयोग गरेका छन् । ३१ चैतमा भएकोे आगलागीबाट विस्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा रहेको गणेश फर्निचर उद्योगलाई रत्नपार्कबासीले आर्थिक सहयोग गरेका हुन् ।
स्थानीय एक सय ७७ जनाबाट संकलन गरिएको एक लाख पाँच हजार ९३० रपैयाँ सहयोग रकम बिहीबार टोलबासीकातर्फबाट जीवनकुमार श्रेष्ठले उद्योगका प्रोपाईटर हर्कराज राईलाई घरैमा पुगेर हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणका लागि श्रेष्ठसहित राजु श्रेष्ठ, पर्शुराम थापा, मनोज राई, हरिहर श्रेष्ठ लगायत टोलबासीहरुको उपस्थिति रहेको थियो ।
रत्नपार्कबासी र अन्य सहयोगीहरुबाट संकलन भएको सहयोग सानो भएपनि विपदमा ईट्टा थप्ने काम गर्ने अभियन्ता जीवनकुमार श्रेष्ठले बताए ।
विपदमा तत्काल नगरपालिका, वडाले राहत दिनु पर्दथ्यो, तर खै नगरपालिका र वडा कहाँ छ यहाँ ? त्यसैले हामी एक भएर सहयोग जुटायौ । हामी टोलबासी हौ, यहाँ कुनै दलको कुरा छैन, जातको कुरा छैन, मात्रै सहयोगी भावना छ, श्रेष्ठले भने, ‘विपदमा रत्नपार्कबासी सधै एक छौ,एक हुनेछौ ।’
आगलागीबाट पीडित राईलाई यसअघि माटिकोरे टोलबासीले २५ हजार ६५० रुपैयाँ, सौन्दर्य कला व्यवसायी संघले १० हजार २० रुपैयाँ, खोटाङ उद्योग वाणिज्य संघले एक लाख, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार राहत प्रदान गरिसकेको छ । उद्योगमा आगलागी हुँदा ५० लाख ८६ हजारको क्षतिभएको थियो ।