खोटाङ । दाहाल प्रतिष्ठान शाखा समिति खोटाङले एसईई र कक्षा–१२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दाहाल परिवारका दुई जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
दाहाल प्रतिष्ठानले दाहाल परिवारभित्र जिल्लाभरिमा एसईई र कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याउने दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको हो ।
दाहाल प्रतिष्ठानले आइतवार दिक्तेलस्थित आफ्नै प्रतिष्ठानको कार्यालय दिक्तेलमा एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्कृष्ट जीपीए ल्याउने ऐसेलुखर्क गाउँपालिका-७ माक्पाकी कुस्मा दाहाल र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बिरेन्द्र दाहाललाई नगद पाँच हजारसहित सम्मानपत्रले सम्मान गरिएको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष लिलाबहादुर दाहालले जानकारी दिए ।
शैक्षिक सत्र २०८२ सालको एसईईमा कुस्माले माक्पा मावि माक्पाबाट ३ दशमलव ५४ जिपिए र बिरेन्द्रले कक्षा १२ को परीक्षामा सरस्वती माध्यमिक विद्यालयबाट ३ दशमलव ४४ जिपिए ल्याएका थिए ।
खोटाङ जिल्लाभित्र बसोबास गरिरहेका दाहाल परिवारका विद्यार्थीहरुको हौसला बढाउनलाई नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए ।
विद्यार्थी सम्मान तथा माध्यमिक स्तरीय खुल्ला निवन्ध लेखन प्रतियोगिता कार्यक्रममा दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य बलराम दाहाल, दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका निवर्तमान अध्यक्ष मिनकुमार दाहाल, प्रतिष्ठानका सल्लाहकार दिलीप दाहाल, नइन्द्रकुमार दाहाल,दाहाल प्रतिष्ठान छोरीबुहारी समिति सचिव रविना सुवेदी, दाहाल प्रतिष्ठान छोरीबुहारी समिति सदस्य चन्द्रकला कार्की (दाहाल) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।