बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न गाउँपालिकाले गर्‍यो दुई बैंकसँग सम्झौता

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न गाउँपालिकाले गर्‍यो दुई बैंकसँग सम्झौता

रोदिक खबर

२०, चैत्र २०७७
  • 3.6K
    SHARES
  • बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न गाउँपालिकाले गर्‍यो दुई बैंकसँग सम्झौता

    खोटाङको खोटेहाङ गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको लागि दुई वटा बैंकसँग सम्झौता गरेको छ । पारदर्शी रुपमा सम्वन्धित लाभग्राहीकै हातमा सामाजिक सुरक्षाभत्ता पुर्‍याउने व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम चौमासिकदेखि सुरक्षा भत्ता वितरणको लागि राष्ट्रिय वाणिज्य बैंक र सालपा विकास बैंक बैंकसँग सम्झौता गरेको हो ।

    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि बुधबार गाउँपालिकाकातर्फबाट गाउँपालिका अध्यक्ष प्रदीप राईले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खोटाङवजारका मेनेजर सञ्जिव खनाल र सालपा विकास बैंकका सिमपानी शाखाका मेनेजर सरोज बस्नेतसँग सम्झौता गरेका छन् ।

    कतिपय स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको अवस्थामा गाउँपालिकाका उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायतको उपस्थितिमा बैंकसँग सम्झौता गरिएको हो । 

    गाउँपालिका अध्यक्ष संयोजकत्वको सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुदृढिकरण आयोजना समन्वय समितिको बैठकको निर्णय अनुसार बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकसँग सम्झौता गरिएको हो ।सामाजिक सुरक्षा भत्तामा हुने चुहावट नियन्त्रण गर्ने लक्ष्यका साथ आगामी असारदेखि बैंकिङ प्रणालीमार्फत भत्ता वितरणको व्यवस्था मिलाउने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    राष्ट्रिय वाणिज्य बैंकमार्फत खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका लाभग्राहीलाई भत्ता वितरण गर्ने सम्झौता गरिएको छ ।

    यस्तै, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, खोटेहाङ गाउँपालिका–८ सिमपानी र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका लाभग्राहीलाई सालपा बिकास बैंकमार्फत भत्ता वितरणको सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

    खोटेहाङका ९ वडाका सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको खाता खोल्नका लागि सम्वन्धित बैंक वडा–वडामा पुग्ने गाउँपालिकाले जनाएको छ । ८० वर्ष नाघेका ज्येष्ठ नागरिक र अस्पतालबाट दीर्घरोगीको सिफारिस प्राप्त लाभग्राहीलाई भने सामाजिक सुरक्षा भत्ता पनि घरैमा उपलव्ध गराउने व्यवस्था मिलाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको पुर्वतयारीमा सम्बन्धित वडाका कार्यालयबाटै खाता खोल्नका लागि शिबिर सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै गाउँपालिकाले नागरिकताको प्रमाण–पत्र, फोटो र तीन पुस्ते विवरण खुल्ने कागजात सहित उपस्थितिका लागि लाभग्राहीलाई आग्रह गरेको छ ।

    ९ वडा रहेको खोटेहाङमा ७० वर्षमाथिका १ हजार २५३ जना, दलित ज्येष्ठ नागरिक १५४ जना, ज्येष्ठ एकल महिला २४८ जना, विद्यवा २२५ जना, (क) वर्गको अपांगताको परिचयपत्र लिएका २६ जना, (ख) वर्गको अपांगताको परिचय–पत्र लिएका १२८ जना र दलित बालबालिका १३३ जना छन् । 

    प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - ०७:३८:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको