खोटाङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङले दिक्तेलबजारमा सञ्चालित बैंकको सेवा प्रवाहका लागि समय तालिका निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले दिक्तेलबजारमा सञ्चालित बैंकलाई अत्यावश्यक किसिमका सिमित कारोबारका लागि दैनिक दुई घण्टा मात्र खोल्ने/खुलाउने गरी समय तालिका निर्धारण गरेको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको यस निर्णय अनुसार महामारीमा दिक्तेलका बैंकमा बिदाको दिन बाहेक दैनिक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र बैंकिङ कारोबार हुने छन् । राष्ट्रिय बाणिज्य बैंक आइतबार, मंगलबार र बिहीबार तथा सेञ्चुरी कमर्सियल बैंक, बैंक अफ काठ्माण्डौं र एसबिआई बैंक आइतबार र बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने निर्णय गरिएको छ ।
यस्तै, नेपाल बैंक लिमिटेड, एनआइसि एसिया, सालपा विकास बैंक र सनराईज बैंक सोमबार र बिहिबार तथा कृषि विकास बैंक, ग्लोवल आईएमई बैंक, ज्योती विकास बैंक, माछापुछ्रे बैंक र सानिमा बैंक मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अत्यावश्यक कारोबारका लागि खुल्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।
बैठकले स्वास्थ्य कार्यालयले मंगलबारदेखि कोभिड–१९ को लक्षण देखिएका तथा कोभिड प्रभावित स्थान र देशबाट आएका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण सुरु गर्ने, स्थानीय तहले आफ्नो पहलमा कोभिड संक्रमितको स्वाव संकलन तथा पिसिआर परीक्षण नतिजा एवं एन्टिजेन परीक्षणको बारेमा स्वास्थ्य कार्यालयलाई जानकारी गराउने लगायतका निर्णय गरेको छ ।