काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ। बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका हुन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ।
तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको राथजात्राको साइत यसपछि नरहेको भन्दै राथजात्रा निकालेका हुन्। रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो । त्यसक्रममा प्रहरीले अवरोध गरेपछि युवाहरु आजै रथ तान्नुपर्छ भनेर कस्सिएका हुन् । तर यस विषयमा न त गुठी संस्थानले कुनै निर्णय गरेको छ न त सरोकारवाला निकायलाई नै यसबारे जानकारी छ ।
‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन सुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ।
तर यस वर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन।
तर पनि साउन १० गते नागपञ्चमीको दिन दिउँसो १२ बजेको शुभ साइतमा रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो। रथमा विराजमान गराइएको चार दिनपछि रथजात्रा शुरु गर्नुपर्छ।
तर कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो। जात्रा नभएपछि स्थानीयले दैनिक रथ विराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए।