दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन प्रकरणमा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्म न्यायीक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले मंगलबार अपरान्ह चार बजे रियालाई गिरफ्तार गरेर अदालतमा पेश गरेको थियो। एनसीबीले रियालाई अनुसन्धानका लागि १४ दिन हिरासतमा राख्न अदालतसँग माग गरेको थियो भने रियाका वकिलले जमानतको माग गरेका थिए। अदालतले जमानतको माग खारेज गर्दै १४ दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएको थियो।
सुशान्त सिंह प्रकरणमा ड्रग्स एंगल अगाडि देखिएपछि केही दिन अघिदेखि एनसीबीले रियासँग सोधपुछ गरिरहेको थियो। मंगलबार पनि रियासँग घण्टौँ सोधपुछ भएको थियो। सोधपुछपछि उनलाई गिरफ्तार गरिएको हो।
रियाका भाइ शौविक चक्रवर्तीलाई यसअघि नै एनसीबीले पक्राउ गरिसकेको छ। रिया समेत एनसीबीले यो प्रकरणमा अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ।