काठमाडौं- सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने आरटि पिसीआर परीक्षण नगर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले लक्षण देखिएकाको मात्र पिसीआर परीक्षण गर्ने निर्णय गरेको हो।
मन्त्री ढकाल उपस्थित उक्त बैठकले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि लक्षण नदेखिएसम्म परीक्षण नगर्ने निर्णय गरेको छ।
'कोभिड १९को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै आरटी पिसीआर परिक्षण गर्ने,' कोभिड-१९ को परीक्षण सम्बन्धमा गरिएको निर्णय पत्रमा उल्लेख छ, 'अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु (खासगरी उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसफाई कर्मचारीहरुमा) कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पिसीआर परीक्षण गर्ने।'
मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा पनि लक्षण देखिएकाहरुको मात्रै पिसीआर परीक्षण गर्ने लक्षण नदेखिएकाको नगर्ने निर्णय गरेको छ।