काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री साहले बिहीबार राति फेसबुकमा लेख्दै देश जोगाउने र पार्टी जोगाउने विषय फरक हुने टिप्पणी गरेका हुन्।
उनको अभिव्यक्ति लामिछानेको पछिल्लो टिप्पणीप्रति लक्षित देखिन्छ। ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन्। फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री साहले लेखेका छन्।
यसअघि चितवनमा आयोजित कार्यक्रममा रास्वपा सभापति लामिछानेले सरकारले प्रहरी महानिरीक्षक हटाउने निर्णय गर्दा पार्टीले त्यसका लागि आग्रह नगरेको बताएका थिए। उनले आईजीपी हटाउनुको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको टिप्पणी गरेका थिए।
लामिछानेको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्रीको आएको प्रतिक्रियालाई सरकारको निर्णय र पार्टी नेतृत्वबीचको फरक दृष्टिकोणका रूपमा हेरिएको छ।
प्रहरी नेतृत्व परिवर्तनको विषयमा सत्तारुढ दलका सभापति र प्रधानमन्त्रीबाट सार्वजनिक भएका फरक अभिव्यक्तिले सरकार र पार्टीबीचको सम्बन्ध तथा निर्णय प्रक्रियाबारे राजनीतिक वृत्तमा चासो बढाएको छ।