बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ ।
अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् ।बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।
बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बिमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बिमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बिमा स्वीकार भए पछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ ।
बीमा दुई प्रकारका हुन्छन् ।
१.जीवन वीमा
मानिसको जीवन सँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बिमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बिमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।
जीवन बीमाका प्रकार ः
आजिवन बीमा
सावधिक बीमा
म्यादी बीमा
एन्युटि बीमा
२. निर्जीवन बीमा
निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्ति सँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।
निर्जीवन बीमाको प्रकार :
अग्नि बीमा
सामुन्द्रिक बीमा
हवाई बीमा
मोटर बीमा
विविध बीमा
वर्तमान समयमा बीमाको महत्व दिनानुदिन बढ्दै गईरहेको छ । तर पनि बीमा क्षेत्रमा जति विकास हुनुपर्ने हो त्यो भने भएको पाईदैन । समय र प्रविधि सगै बीमा क्षेत्रमा हुनु पर्ने सुधार नआउनुमा धेरै कारणहरु तेर्सिन पुग्दछन् । बीमा सम्बन्धि जनचेतना नहुनु, बीमा अभिकर्ता सक्रिय नहुनु जस्ता मुलभूत कारणहरुले गर्दा आज बीमा क्षेत्र फस्टाउन सकेको छैन । बीमा क्षेत्रमा सुधार ल्याउनका लागि केहि नयाँ कदम चालेमा पक्कै पनि यो क्षेत्रमा सुधार भने आउने छ ।
बीमा किन गर्ने ?
बीमा भनेको कुनै पनि व्यक्तिलाई आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरि कम्पनी) बीच करार सम्झौता हुन्छ । यस्तो अवस्थाको जोखिमका लागि यति रकमको जोखिम बहन गर्ने गराउने इत्यादि । हामी सबै मानिसहरु भोलिका दिनमा आउने जोखिमका विषयमा विज्ञ हुदैनौ । तर अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्छ । त्यही हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।
जीवन बीमा गर्नैपर्ने १० महत्वपूर्ण कारण
बचत र लगानी
जीवन बीमा जोखिम हस्तान्तरणको एक साधन मात्र नभई बचत र लगानी पनि हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । यद्यपि यसले जोखिम बहनभन्दा पहिले बचत गराएको हुन्छ । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन, ती व्यक्तिहरुले हरेक वर्ष प्रियिम बापत निश्चित रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समय अवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । त्यसकारण बीमा एक किसिमको बचत पनि हो ।
बोनश
जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ । इन्स्योरेन्स गराए वापत बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमा समयअवधी सकिसकेपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ । त्यसकारण बीमा गर्नु फाइदा छ ।
आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ ।
पारिवारीक जिम्मेवारीको जोखिम बहन
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।
भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा धेरै माथि हुन्छ । भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन् । सोही अनुसार हामी दैनिकि चलाईरहेका हुन्छौँ । काम गरिरहेका हुन्छौँ । कुनै पनि व्यक्तिले देखेका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
मुलुकको विकासमा टेवा
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पूँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।
सन्तानको शिक्षा
हरेक अभिभावकले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहाना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।
परनिर्भरता उन्मूलन
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।
ऋणको भारबाट छुटकारा
कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै भएमा उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।
जीवन सुरक्षा
इन्स्योरेन्सबाट बोनसभन्दा पनि महत्वपुर्ण पक्ष भनेको जीवनको सुरक्षा हो । जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचारका लागि पैसा दिने गर्दछ । मानिसको जीवनमा अनेक प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिमध्ये सबैभन्दा ठुलो विपत्ति मृत्यु हो । रोगव्याधि, दुर्घटना वा अन्य कुनै कारणले मानिसहरुको अकाल मृत्यु हुन सक्छ । यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवा दिने माध्यम भनेको बीमा नै हो ।पछि यसलाई लगानीको माध्यमबाट पनि अपनाउन सकिन्छ ।