काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएर निर्माण गरिएको एउटा र्याप गीतको म्यूजिक भिडियो सोमबार सामाजिक सञ्जाल युट्यूवमा अपलोड भएको छ । आफ्नाे अधिकारको खोजी गर्दै गाइएको उक्त गीतमा राष्ट्र, राष्ट्रियता र आम नेपाली जनताको घोर विरोध र अपमान गरिएको छ । सँगसँगै सो भिडियोले जातीय द्वन्द्वलाई नजिकै निम्तो दिएको आभास समेत गराएको छ ।
मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ । जातीय द्धन्द्धलाई प्रश्रय दिने खालको गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको छ । आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डामा आगो लगाइएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ ।
मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा नेपालको झण्डा जलाइएको भिडियोमा देखिन्छ । भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । जहाँ नेपालको झण्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्वीर पनि जलाइएको छ ।
देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन र्याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटीएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ ।
भिडियो बजारमा आएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भिडियोमा राष्ट्रिय झण्डा जलाउने व्यक्तिको खोजीकार्य भइरहेको बताए ।
मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरीवाना हुने उल्लेख गरिएको छ । दैनिकनेपालबाट