खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउन खुला भए लगत्तै सुचारु गरेको पठन–पाठन पुःन बन्द गरेको छ । लकडाउन खुले लगत्तै शिक्षक/शिक्षिकालाई टोल÷टोलमा पठाएर गत साउन ७ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गरेको गाउँपालिकाले कोरोना भाइरसको संक्रमण दर बढ्न थालेको भन्दै पुःन पठन–पाठन बन्द गर्ने निर्णय गरेको हो ।
दिनानुदिन कोरोना भाइरसको संक्रमण बढिरहेको तथा स्वास्थ्य संकट निम्तिने खतरालाई मध्यनजर गर्दै बुधबार बसेको गाउँ शिक्षा समितिको निर्णय अनुशार बिहिबारदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि सिकाई सहजीकरण बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
महामारीकैबीचमा जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनकैबीचमा विषयगत शिक्षक खटाएर गाउँ÷टोल÷वस्ती सिकाई सहजीकरण अभियान सञ्चालन गर्ने निर्णय लिएको थियो ।
असार मसान्त बित्दा समेत कोभिड–१९ को अशर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएको अवस्थामा गाउँपालिकाले सामाजिक दुरी कायम गरेर १५१ वटा केन्द्र निर्धारण गरेर पठन–पाठनलाई सुचारु गराएको थियो । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् ।
शैक्षिक–सत्र सुरु भएको तीन महिना बितेपछि गाउँपालिकाले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठन–पाठनलाई अघि बढाउने बिकल्प रोजेको थियो । टोलमा पुग्ने विषय शिक्षकले सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा विद्यार्थीलाई भेला गरेर आफ्नो विषयको पठन–पाठन गराउने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक अशर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको थियो । लकडाउन खुलेपछि अन्य स्थानीय तहले तयारी गरिरहेको पठन–पाठन समेत प्रभावित भएको छ ।