खोटाङ । महिलाको क्षमता अभिवृद्धिका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्यूटर सञ्चालन सम्वन्धी तालिम दिएको छ ।
समय अनुसार महिलाको क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ६४ जना महिलालाई तीन महिने आधारभुत कम्प्यूटर तालिम दिइएको हो ।
अधिकांश महिला लक्षित वजेटलाई सिलाई कटाई, बनाई जस्ता तालिममा सिध्याउने गरिएकामा अर्खौलेका महिलालाई आधारभुत कम्यूटर तालिम दिइएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताईन् ।
कम्यूटर सम्वन्धी महिलाको क्षमता र दक्षता अभिबृद्धिका लागि महिला लक्षित कार्यक्रम अन्तर्गत गत असार १३ गते उद्घाटन गरिएको कम्प्यूटर तालिम बिहिबार समापन गरिएको छ ।
महिलाका लागि विनियोजित चार लाखमध्ये दुई लाखमा चार वटा कम्यूटर र एक थान ल्यापटप खरिद गरेर तालिमको आयोजना गरिएको थियो । हाल सबैका लागि अनिवार्य बनिसकेको कम्यूटर तालिममा सहभागी हुन पाउँदा घाँस दाउरा र चुल्हो चौकामा सिमित महिला उत्साहित बनेका छन् ।

उनीहरुले कम्प्यूटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अंग्रेजी भाषामा टाईप गर्न सक्ने दक्षता हासिल गरेका छन् । कम्प्यूटर सिक्नका लागि कतिपय महिला घरको काम छाडेर तालिम कक्षमा आउने गरेका थिए । ‘एक वडा एक सहकारी’ स्थापनाको अभियान थालिएको नगरपालिकामा सहकारी स्थापनापछि कम्यूटर चलाउनु पर्ने भएकाले पनि कम्यूटर तालिम फलदायी हुने अपेक्षा गरिएको उपप्रमुख राईले बताईन् ।
‘महिलालाई सँधै सिलाई कटाई जस्ता तालिम दिने गरिएको छ । तर नयाँ–नयाँ टेक्नोजोलीका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्यूटर तालिमको आयोजना गरिएको हो,’ उपप्रमुख राईले भनिन्, ‘केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनकाक्रममा पनि कम्यूटर सम्वन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
कम्यूटर तालिममा सहभागी महिलालाई नगरप्रमुख इवन राई र उपप्रमुख राईले प्रमाण–पत्र प्रदान गरेका छन् ।