शुक्रवार, भाद्र २६ गते २०८३

डिग्रीको सर्टिफिकेट लिएर किवी खेतीमा

डिग्रीको सर्टिफिकेट लिएर किवी खेतीमा

रोदिक खबर

८, भाद्र २०७७
  • 21.2K
    SHARES
  • डिग्रीको सर्टिफिकेट लिएर किवी खेतीमा

    खोटाङ । ‘पढेगुनेका युवाले खेतीपातीको काम गर्नुहुन्न’ भन्ने अधिकांशको मानसिकता छ । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका शुभचन्द्र राई भने यो सोचभन्दा माथि छन् । कानून र राजनीतिशास्त्रमा स्नातक राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको मुलडाँडामा ३० रोपनी जग्गामा व्यवसायिक रुपमा किवी खेती गर्दै आएका छन् । युवावस्थामै २०५४ सालमा दोर्पाचिउरीडाँडाका निर्वाचित गाविस अध्यक्ष राई समाजशास्त्रमा स्नातकोत्तरका विद्यार्थी पनि हुन् ।

    २०७१ साल वैशाख २ गते शुभ कृषि फर्म दर्ता गरेका राईले सोही वर्षदेखि किवी खेती सुरु गरेका हुन् । आफ्नै गाउँ–ठाउँमा ‘कृषिबाटै करोड’ कमाउने लक्ष्यकासाथ २०७१ सालमा दोलखाका श्यामबहादुर खड्काको फर्मबाट सय बोट ग्रीन किवी ल्याएर राईले २०७३ सालमा काभ्रेका डा. सूर्य पाण्डेकोबाट ७० बोट रेड किबी ल्याएर बगानमा थप गरेका हुन् ।

    हाल राईको बगानमा ४३० ग्रीन किबी र ७० बोट रेड किबीको बोटले फल दिन थालेको छ । शुरुमा हवाईजहाजबाट किवी, चेरी र आलमोन्डका सय/सय बोट विरुवा खानीडाँडा विमानस्थलमा ओरालेर ल्याएकामा किवी मात्र बाँचेको राईले बताए । राईले काठ्माण्डौंमा चिली, इटाली, न्यूजिल्याण्ड लगायतका देशबाट भित्रिरहेका किवीको ठाउँमा अर्गानिक किवीलाई स्थापित गराउने लक्ष्यकासाथ किवी खेती सुरु गरेका हुन् ।

    उपयुक्त हावापानी भएकाले खोटाङका अधिकांश ठाउँमा किबी खेतीको प्रचुर सम्भावना रहेको राईले बताए । एउटा किबीको बोटबाट निरन्तर ५०–६० वर्षसम्म फल लिन सकिन्छ । जिल्लामा किवी खेतीको सम्भावना देखाउँदै किसानलाई यसतर्फ प्रोत्साहित गर्नु पनि उनको लक्ष्य हो ।

    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०८:२३:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको