दिलीप खत्री
मात्तिम/बिहानको चिसो हावासँगै साकेला गाउँपालिका–४, मानेभञ्ज्याङको एउटा बारीमा हरियाली मुस्कुराइरहेको देखिन्छ। लटरम्म टमाटरका बोट, अकबरे खुर्सानीका हुर्कँदै गरेका बिरुवा, काउली र ब्रोकाउलीका सेता–हरिया थुँगा, अनि छेउकै पोखरीमा रमाइरहेका माछा।
यो दृश्य कुनै कृषि अनुसन्धान केन्द्रको होइन, ४० वर्षीय कृषक मनोज खड्काको अथक मेहनत र दृढ संकल्पले सिर्जना गरेको कृषि उद्यमको नमुना हो। आज पनि धेरै युवाले “गाउँमा बसेर केही हुँदैन” भन्ने सोच बोकेर शहर वा विदेशतर्फको बाटो रोजिरहेका छन्। तर मनोजले भने आफ्नै गाउँको माटोमा भविष्य देखे।
पाँच वर्षअघि उनले मानेभञ्ज्याङ बहुउद्देश्यीय सहकारी संस्था स्थापना गर्दै व्यावसायिक कृषितर्फ पाइला चाले। त्यतिबेला धेरैले उनको निर्णयलाई जोखिमपूर्ण मानेका थिए, तर उनले जोखिमभन्दा सम्भावनालाई ठूलो देखे। “आफ्नै गाउँमा केही गरेर देखाउनुपर्छ भन्ने सोच थियो,” मनोज भन्छन्, “मेहनत गर्न सक्ने हो भने गाउँमै अवसरको कमी छैन।” उनको कृषि यात्रा टमाटर, अकबरे खुर्सानी, काउली, बन्दा र ब्रोकाउली खेतीबाट सुरु भयो।
समयसँगै उनले माछापालन र अलैंची खेतीलाई पनि व्यवसायसँग जोड्दै आम्दानीका स्रोत विस्तार गरे। मौसमअनुसार विभिन्न बाली उत्पादन गर्ने भएकाले उनको खेतबारी वर्षभरि हराभरा रहन्छ। उत्पादनको विविधताले आम्दानीलाई पनि स्थायित्व दिएको छ। तर सफलताको यो यात्रामा चुनौतीहरू कम थिएनन्।
प्रारम्भिक चरणमा लगानीको अभाव, गुणस्तरीय बीउबिजन, मल, सिँचाइ सुविधा तथा बजार व्यवस्थापनका समस्याले उनलाई पटक–पटक परीक्षा लिए। तर उनले कठिनाइसँग हार मान्नुभन्दा सिकाइ र अनुभवलाई साथ लिएर अघि बढ्ने बाटो रोजे।
विभिन्न तालिम, कृषि सम्बन्धी अध्ययन र निरन्तर अभ्यासले उनलाई सफलताको उचाइमा पुर्याएको छ।हाल मनोजले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गरिरहेका छन्। उनको बारीबाट उत्पादन हुने तरकारी स्थानीय बजारसँगै आसपासका क्षेत्रसम्म पुग्ने गरेको छ।
कृषिबाट मात्रै उनले वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। उनको सफलताको अर्को महत्वपूर्ण आधार परिवार हो। एक छोरा र एक छोरीका बाबु मनोजलाई खेतीपातीका अधिकांश काममा श्रीमतीको राम्रो साथ छ। बारी तयारीदेखि उत्पादन संकलन, व्यवस्थापन र बिक्रीसम्म श्रीमतीको सक्रिय सहयोगले उनको कृषि व्यवसायलाई थप मजबुत बनाएको छ।
मनोजको अनुभवमा गाउँका धेरै उर्वर जमिन अहिले बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझो बनेका छन्। उनी भन्छन्, “वार्षिक पाँच–छ हजार रुपैयाँमै १०–१५ रोपनी जग्गा भाडामा पाइन्छ।
इच्छाशक्ति र मेहनत हुने हो भने खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ।” उनका अनुसार कृषि अब केवल परम्परागत जीविकोपार्जनको माध्यम मात्र होइन, आधुनिक, सम्मानजनक र सम्भावनायुक्त व्यवसाय बनिसकेको छ।
बजारको मागअनुसार उत्पादन, आधुनिक प्रविधिको प्रयोग र उचित व्यवस्थापन गर्न सके कृषिबाट आत्मनिर्भर बन्न सकिने उनको विश्वास छ। मनोजको सफलताले गाउँका अन्य युवालाई पनि प्रेरित गरिरहेको छ। रोजगारीका लागि शहर वा विदेश जानु मात्रै विकल्प होइन भन्ने सन्देश उनले आफ्नो जीवनबाट दिएका छन्।
गाउँको उर्वर भूमि, अनुकूल हावापानी र उपलब्ध स्रोत–साधनको सही उपयोग गर्न सके आफ्नै ठाउँमा सम्मानजनक जीवनयापन सम्भव छ भन्ने उदाहरण बनेका छन् उनी। स्थानीय जनप्रतिनिधिहरू पनि मनोजजस्ता उद्यमी कृषकलाई गाउँको विकासका महत्वपूर्ण साझेदारका रूपमा लिन्छन्।
कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता कृषकहरूको भूमिका महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ। आज मनोज केवल सफल किसान मात्र होइनन्।
उनी गाउँमै सम्भावना खोज्ने साहसका प्रतीक हुन्। संघर्षलाई सफलतामा रूपान्तरण गर्ने प्रेरणा हुन्। अनि यो प्रमाण पनि हुन् कि गाउँको माटोमा पसिना बगाउन सक्ने हो भने त्यही माटोले सुन फलाउन सक्छ।

