खोटाङ । किराको प्रकोप बढ्नुको साथै बेर्नाको गुणस्तरमा ह्रास आई उत्पादन र गुणस्तरमा गिरावट आउनुको प्रमुख कारण हाम्रो कृषक दाजुभाई तथा दिदीबहिनीले एउटै जमिनलाई लामो समयसम्म नर्सरीको रुपमा प्रयोग गर्ने चलन देखिन्छ ।
यस्तो परिस्थितिमा परम्परागत बेर्ना उत्पादनको विकल्पको खोजी विगतदेखि नै भईरहेको छ । यही खोजीको क्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा नेपालगञ्जको अनुसन्धानले स्वस्थ बेर्ना उत्पादनको लागि प्लाष्टिक ट्रेमा बाख्राको मल उपयुक्त हुने कुरा पहिचान गरेको छ ।
प्लाष्टिक ट्रेमा राख्नको लागि पनि विभिन्न किसिमका मिडियाहरु प्रचलनमा आएका छन् । जसमध्ये कोकोपिट नरिवलको जट्टा कुहाएर बनाएको मिडिया संसारभर तरकारी बेर्ना उत्पादनको लागि सबैभन्दा प्रख्यात रहेको छ ।
कतैकतै भर्मी कम्पोस्ट, माटो, बालुवा र गोबर मलको समानुपातिक मिश्रण पनि प्लाष्टिक ट्रेमा प्रविधिमा प्रयोग गरेको पाइन्छ । तर नेपालमा सिमित क्षेत्रफलमा मात्रै नरिवल खेती हुने र कोकोपिट विदेशबाट अयात गर्नुपर्ने हुँदा यस प्रविधिको लागि राम्रो हुँदाहुँदै पनि आर्थिक दृष्टिकोणले लागत बढी लाग्छ ।
त्यस्तै भर्मी कम्पोष्ट र गोबर मलको मिडियामा बेर्नाको जरामा राम्रोसँग डल्लो नपर्ने र पानी समाती राख्न नसक्ने हुँदा त्यति उपयुक्त देखिदैन । त्यसैले खजुराको अनुसन्धानले स्थानीय स्तरमा उपलब्ध विभिन्न वस्तुहरुलाई मिडियाको रुपमा प्रयोग गरी गरेको परीक्षणमा राम्ररी कुहिएको बाख्राको मल सबैभन्दा राम्रो देखिएको छ ।
स्थानीय रुपमा सहज तरिकाले उपलव्ध हुने हुँदा बाख्राको मल प्लाष्टिक ट्रे प्रविधिमा प्रयोगका लागि कोकोपिटको विकल्पको रुपमा पहिचान गरिएको छ । यही सन्दर्भमा खोटाङ जिल्लामा पनि केही कृषकहरुले ट्रेमा बेर्ना उत्पादन गर्ने गरेका छन् । कृषकहरुको लागि पनि कोकोपिटभन्दा बाख्राको मल स्थानीय स्तरमा नै उपलब्ध हुने हुदाँ कृषकहरुको लागि कोकोपिटको विकल्पको रुपमा बाख्राको मलबाट ट्रेमा बेर्ना उत्पादन प्रविधि प्रभावकारी हुनेछ ।
प्लाष्टिक ट्रेमा बेर्ना उत्पादनका फाइदाहरु
१. वीउको उमार प्रतिशतमा बृद्धि हुने ।
२. तरकारी उत्पादनमा १६ देखि २१ प्रतिशतसम्म बृद्धि हुने ।
३. पानीको राम्रो निकास हुने हुँदा ढुसीजन्य रोगको प्रकोपबाट बचाउन सकिने ।
४,. बाख्राको मल स्थानीय स्तरमा सजिलै उपलब्ध हुने हुँदा आर्थिक दृष्टिकोणले फाइदा हुने ।
.५ स्वस्थ बेर्नाको उत्पादन गर्न सकिने ।
६. उत्पाद्न बृद्धि हुने र बालीमा रोग किराको प्रकोप कम हुने ।
७. तरकारी बेर्ना उत्पादनका ठूलो समस्याहरु जस्तैः– जरा कुहिने रोग, जुका, खुम्रे र फेद कटुवा किराको प्रकोपबाट बचाउन सकिनेछ ।
८. माटामा घुलनसील मल तथा सुक्ष्म तत्वहरुको प्रयोग सजिलै गर्ने सकिने ।
९. जैविक ढुसीनाशक विषादिहरु जस्तै : ट्राईकोड्रर्मा आदिको प्रयोगले विरुवालाई रोगबाट बचाउन सकिने छ ।
१०. प्लाष्टिक ट्रेलाई जाली घरभित्र राखी उत्पादन गरिने हुँदा वालीलाई भाइरसको प्रकोपबाट बचाउन सकिने छ ।
बेर्ना उत्पादन प्रविधि
बजारमा तरकारी बेर्ना उत्पादनको लागि विभिन्न आकारको प्लाष्टिक ट्रे उपलव्ध छन् । जसमध्ये १०५ कोठाको प्लाष्टिक ट्रे निकै प्रचलनमा छ । बेमौसममा लहरे बालीहरु जस्तैः काँक्रा, फर्सी, करेला आदिको लागि ठूलो साईजको र अन्य तरकारी बालीहरु जस्तैः गोलभेडा, भेन्टा, भेँडे खुर्सानी आदिको लागि सानो खोपिल्टा भएको प्लाष्टिक ट्रे पाईन्छ ।

प्लाष्टिक ट्रे भर्ने र विउ लगाउने विधि
यस प्रविधिका लागि सबैभन्दा पहिले राम्ररी कुहिएको बाख्राको मल संकलन गरी धुलो हुने गरी काठ वा ढुङ्गाले पिस्नुपर्छ । त्यसमा १०० ग्राम ट्राइकोडमाको धुलो प्रतिकेजी मलमा पर्ने गरी मिसाउनु पर्दछ । त्यसपछि उक्त मिश्रणलाई प्लाष्टिक ट्रेमा भर्नुपर्दछ र भरिएको प्लाष्टिक ट्रेको खाल्डामा अर्को खाली ट्रेको पछाडिपट्टिको पिँध पर्ने गरी च्याप्नु पर्दछ । जसले गर्दा भरिएको प्लाष्टिक ट्रेमा १.५ से.मी. सम्मको खाल्डो परोस । यसरी बनेको खाल्डोमा तरकारीको एक एक विउ पर्ने गरी राख्नु पर्दछ र माथिबाट मलले छोपिदिनु पर्दछ ।
ट्रे राख्ने ठाउँको छनोट तथा निर्माण
भाइरस र त्यसलाई सार्ने किराबाट बेर्नालाई बचाउनको लागि जाली घरभित्र ट्रे राख्नु उपयुक्त हुन्छ । ट्रे राख्नका लागि ट्रे को लम्बाईको भागबाट ट्रे अटाउने आकारको जमिनबाट ५ देखि १० से.मी. उठाएर बेड निमार्ण गर्नु पर्दछ । दुई वटा बेडको बिचमा आवतजावत गर्ने गरी ३० देखि ५० से.मी. चौडा र जमिनको सतहदेखि ५ देखि १० से.मी.सम्म गहिरो ग्याप राख्नु पदर्छ ।
यसरी बनाईएको बेडलाई राम्ररी सम्याएर प्लाष्टिक ओछ्याई ट्रेहरुलाई सिलसिलाबद्ध रुपमा राख्नुपर्दछ । ट्रेमा चिस्यान बाचर्य राख्न टे«मा वीउ नउम्रिउन्जेलसम्मलाई माथिबाट प्लाष्टिक वा परालले ढाकिदिनु पर्दछ । वीउ उम्रिन बालीको प्रकृति र वातावरणको तापक्रम अनुसार ३ देखि ७ दिनसम्म लाग्दछ । वीउ राखीसकेपछि हरेक दिन हजारीको सहायताले सिँचाई गर्नु पर्दछ । उपलव्व्ध भएसम्म वीउ छरेको १२ दिनबाट पानीमा घुलनसिल मल र सुक्ष्म तत्व सिँचाई सँगसँगै दिन सकिन्छ ।
विरुवा कडा बनाउने
बेर्ना रोप्न योग्य भईसकेपछि खेतमा रोप्नुभन्दा पहिले अनुकुलताका लागि केही दिन बेर्ना कडा बनाउनु पर्दछ । यसका लागि केहि दिन विरुवालाई सिँचाई गर्न बन्द गरि दिनु पर्दछ र सकेसम्म बेर्नालाई सुर्यको प्रकाशमा देखाउनुपर्दछ ।
बेर्ना उखेल्ने तरिका
बेर्ना उखेल्नु भन्दा ४ देखि ५ घण्टा भन्दा पहिले राम्ररी भिज्ने गरी सिँचाई गर्नु पर्दछ ।
बेर्ना रोप्ने तरिका
आवश्यक दुरीमा प्लाष्टिक ट्रेमा उमारिएको बेर्नाको जरामा मिडियाको डल्लोलाई नफुटाई रोप्नुपर्दछ र रोपी सकेपछि राम्ररी बेर्ना वरिपरि थिची सिँचाई गर्नृु पर्दछ । लेखक : पण्डित कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत हुन् ।
