तीर्थराज भट्टराई
लोकतान्त्रिक व्यवस्थामा चुनाव जित्नु वा हार्नु अस्वाभाविक घटना होइन। नागरिकको मतबाट नेतृत्व चयन हुने प्रणालीमा चुनावी परिणाम परिवर्तनशील हुन्छ ।राजनीतिमा कहिले विजय हुन्छ कहिले पराजय। यही प्रक्रियाले नै लोकतन्त्रलाई जीवन्त र गतिशील बनाइ राख्छ।
चुनावी हार कुनै पनि राजनीतिक दल वा नेताको अन्त्य होइन, बरु आत्मसमीक्षा गर्ने र भविष्य सुधार गर्ने अवसर हो। नेपालमा भर्खरै २०८२ फागुन २१ गते भएको प्रतिनिधी सभा निर्वाचनको सन्दर्भलाई लिएर राजनीतिक परिदृश्यमा पनि यही विषयमा व्यापक बहस भइरहेको छ।
विशेषगरी नेपाली कांग्रेसभित्र पछिल्लो चुनावी परिणाम र त्यसपछि पार्टी सभापति गगन थापा माथि उठेको नेतृत्वसम्बन्धी चर्चा राजनीतिक वृत्तमा महत्वपूर्ण विषय बनेको छ। यस्तो अवस्थामा इतिहास र लोकतान्त्रिक अभ्यासलाई सम्झिएर विवेकपूर्ण निर्णय लिनु आवश्यक हुन्छ।
विश्व राजनीतिका उदाहरण
विश्व इतिहासले पनि चुनावी हारलाई लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको स्पष्ट देखाउँछ। बेलायतका प्रसिद्ध नेता सर विन्स्टन चर्चिल दोस्रो विश्वयुद्धमा ब्रिटेनलाई विजयतर्फ डोर्याउने महान् नेता मानिन्छन्। उनको नेतृत्वले विश्व इतिहासलाई नै प्रभाव पारेको थियो। तर उनै चर्चिल सन् १९४५ को आम निर्वाचनमा पराजित भए। युद्ध जिताउने नेताले चुनाव हार्नु लोकतन्त्रको वास्तविक स्वरूपको उदाहरण हो।
अमेरिकाको इतिहासमा पनि यस्तै घटना देखिन्छ। राष्ट्रपति जर्ज डब्लु. बुशले खाडी युद्धमा सफलता प्राप्त गरेका थिए। विश्व कूटनीति र सुरक्षा क्षेत्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।
तर सन् १९९२ को राष्ट्रपतीय निर्वाचनमा उनी पराजित भए। यसले देखाउँछ कि लोकतन्त्रमा कुनै पनि नेता स्थायी रूपमा विजेता हुँदैन। लोकतन्त्रमा हार र जित दुवैलाई अवसरको रूपमा लिनु पर्दछ ।
भारतमा कुनै समय शक्तिशाली नेताको रूपमा चिनिएकी प्रधानमन्त्री इन्दिरा गान्धी सन् १९७७ को निर्वाचनमा हारिन्। उनको राजनीतिक प्रभाव र लोकप्रियता निकै बलियो थियो। तर जनमतको परिवर्तनले उनलाई पनि पराजय स्वीकार गर्न बाध्य बनायो। यी सबै उदाहरणहरूले लोकतन्त्रमा चुनावी हार असामान्य होइन स्वभाविक प्रक्रिया हो भन्ने कुरा स्पष्ट पार्दछ ।
नेपालको राजनीतिक सन्दर्भ
नेपालको राजनीतिक इतिहासमा पनि यस्ता उदाहरणहरू पाइन्छन्।
नेपाली कांग्रेसका सभापति तथा २०४७ सालका अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालको लोकतान्त्रिक परिवर्तनमा ऐतिहासिक योगदान दिनुभएको थियो।
उहाँकै नेतृत्वमा २०४७ सालमा संविधान निर्माणको प्रक्रिया अघि बढ्यो र ऐतिहासिक निर्वाचन सम्पन्न भयो। तर यति महत्वपूर्ण योगदान हॅुदाहॅुदै पनि २०४८ सालको संसदीय निर्वाचनमा पराजित हुनुभयो।
यसले के स्पष्ट पार्छ भने लोकतन्त्रमा व्यक्तिगत योगदान, प्रतिष्ठा वा लोकप्रियताभन्दा पनि नागरिकको तत्कालीन मनस्थिति र राजनीतिक परिस्थिति महत्वपूर्ण हुन्छ। चुनावी परिणामलाई यही दृष्टिकोणबाट बुझ्नुपर्छ।
हतारो निर्णयको जोखिम
राजनीतिक दलहरूमा चुनावी हारपछि आत्मसमीक्षा हुनु स्वाभाविक हो। तर यही हारलाई आधार बनाएर नेतृत्व परिवर्तन वा राजीनामाको हतारो निर्णय गर्नु आत्मघाती सक्छ। कुनै पनि दलमा वर्षौँदेखि थुप्रिएका समस्या, संगठनात्मक कमजोरी र संरचनागत विकृतिहरू एकैचोटि समाधान हुन सक्दैनन् ।
नेपाली कॅाग्रेस भित्र पनि विशेष महाधिवेशनबाट निर्वाचित हुनुभएको गगन थापा र कार्यसमिती माथि उठेको प्रश्न यहि हो । नेतृत्व सम्हालेको छोटो अवधिमा नै जादूको छडी घुमाएजस्तो गरी सबै समस्या समाधान हुने अपेक्षा गर्नु पनि यथार्थपरक हुँदैन।
संगठनभित्र सुधार ल्याउन समय, धैर्यता र योजनाबद्ध प्रयास आवश्यक हुन्छ। त्यसैले गहिरो समीक्षा र रणनीतिक तयारीबिना गरिएको सभापति गगन थापाको राजिनामा गर्ने वा नगर्ने वहस वा निर्णयले दललाई अझ कमजोर बनाउन सक्छ । यस विषयमा सबै पक्षले जिम्मेवार भएर प्रश्तुत हुनुपर्छ ।
नेतृत्वको वास्तविक परीक्षा
कठिन परिस्थितिमा नेतृत्वको वास्तविक परीक्षा हुन्छ। सफलता प्राप्त गर्दा नेतृत्वको प्रशंसा हुन्छ तर चुनौतीको समयमा धैर्य राखेर संगठनलाई अघि बढाउनु नै साँचो नेतृत्वको विशेषता हो।
पार्टीको प्रमुख सारथीका रूपमा नेतृत्वमा बसेको व्यक्तिलाई निराश हुने वा जिम्मेवारीबाट पन्छिने छुट हुँदैन। राजनीतिक दलको भविष्य केवल चुनावी परिणामले मात्र तय हुँदैन।
संगठनको बलियो संरचना, स्पष्ट नीति, जनतासँगको सम्बन्ध र नेतृत्वको दृढता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यदि नेतृत्वले यी पक्षलाई मजबुत बनाउन सके भने अस्थायी हार दीर्घकालीन सफलता बन्न सक्छ।
यो समयमा सभापति गगन थापाले राजिनामा दिने हैन दृढताका साथ पार्टीमा देखिएको चुनौति र राष्ट्रिय परिदृश्यमा देखिएको राजनीतिलाई चिर्न जरूरी छ ।
पार्टीमा वैचारिक - सॅागठानिक एकता र पन्ध्रौं महाधिवेशन तत्काल गर्नुपर्ने देखिन्छ सुधार र पुनर्निर्माणको अवसर नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण इतिहास बोकेको पार्टी हो।
यसले राणा शासनको अन्त्यदेखि बहुदलीय लोकतन्त्रको स्थापना र संविधान निर्माणसम्म अनेक संघर्षहरू पार गरेको छ। यस्तो ऐतिहासिक विरासत बोकेको पार्टीले कुनै एक चुनावी परिणामलाई अन्तिम सत्यका रूपमा लिनु हुँदैन।
बरु अहिलेको समयलाई सुधार र पुनर्निर्माणको अवसरका रूपमा लिन आवश्यक छ। संगठन सुदृढीकरण, कार्यकर्ता सशक्तीकरण, नीति स्पष्टता र नागरिकसँगको विश्वास पुनःस्थापना जस्ता विषयमा केन्द्रित हुनुपर्छ।
विगतका कमजोरीहरूबाट सिक्दै नयाँ रणनीति निर्माण गर्न सकियो भने पार्टीलाई अझ बलियो बनाउने अवसर यही हो।
युवा नेतृत्वप्रति अपेक्षा
वर्तमान राजनीतिक परिवेशमा गगन थापा जस्ता नेताहरूलाई धेरै युवाले आशा र परिवर्तनको प्रतीकका रूपमा हेर्ने गरेका छन्। सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति उनको प्रतिबद्धताले समाजमा सकारात्मक सन्देश दिएको छ।