तोमनाथ उप्रेती
रातको अन्तिम प्रहर थियो। काठमाडौँ अझै निद्रामा थियो। घडीले बिहानको चार बजाएको थियो। सडकहरूमा हल्का कुहिरो थियो र आकाश नीलो अन्धकारले ढाकिएको थियो। तर शहरभित्र कतै न कतै जीवन उठ्न थालेको थियो—दूध बोकेका साइकलहरू, मन्दिरतर्फ जाने वृद्धहरू र बिस्तारै ब्यूँझँदै गरेका चिया पसलहरू। त्यो समय काठमाडौँ कुनै महानगरजस्तो देखिएको थिएन; यो हजारौँ वर्षको थकान बोकेको एउटा पुरानो आत्माजस्तो देखिन्थ्यो। रात र बिहानको बीचको त्यो मौन क्षणमा शहरको वास्तविक अनुहार देखिन्थ्यो—भीडभन्दा पर, राजनीतिभन्दा पर, केवल अस्तित्वको एउटा गहिरो शान्ति।
हामी पाँच जना थियौँ। पाँच फरक शरीर। पाँच फरक स्वभाव। पाँच फरक जीवनकथा। तर त्यो बिहान हामी एउटै यात्रामा बाँधिएका थियौँ। यात्राले मानिसलाई अनौठो ढङ्गले जोड्छ। कतिपय सम्बन्ध वर्षौँको चिनजानले पनि बनाउँदैनन्, तर एउटै सडक, एउटै थकान र एउटै आकाशले केही घण्टामै गहिरो आत्मीयता जन्माइदिन्छ। गाडीभित्र कोही निद्रामा आधा हराएको थियो। कोही झ्यालबाहिर हेर्दै थियो। कोही मौन थियो। तर सबैभित्र एउटा अदृश्य उत्साह थियो—शहर छोड्ने उत्साह, आफूलाई केही समयका लागि पछाडि छोड्ने उत्साह।
काठमाडौँ केवल नेपालको राजधानी होइन। यो हिमालयको सभ्यतागत अभिलेख हो। भूवैज्ञानिकहरू भन्छन्—कहिल्यै यहाँ विशाल ताल थियो। पुराण भन्छ—मञ्जुश्रीले चन्द्रह्रास खड्गले चोभार काटे र पानी बाहिर बग्यो। विज्ञानले यसलाई भूगर्भीय परिवर्तन भन्छ। मिथकले करुणाको चमत्कार। तर दुवैले एउटै कुरा स्वीकार्छन्—यस उपत्यकाको जन्म कुनै साधारण घटना थिएन। इतिहास सधैँ तथ्यले मात्र लेखिँदैन। मानिसका सामूहिक विश्वासहरूले पनि इतिहासको एउटा तह निर्माण गर्छन्।
यो उपत्यकामा किराँतहरूले पहिलो राजनीतिक संरचना निर्माण गरे। त्यसपछि लिच्छविहरू आए, जसले शिलालेखमा राज्यको स्मृति कोरे। मल्लहरूले कला, वास्तुकला र नगरसभ्यताको स्वर्णयुग सिर्जना गरे। पृथ्वीनारायण शाहले यिनै नगरराज्यहरूलाई एकीकृत गरेर आधुनिक नेपालको केन्द्र बनाए। त्यसयता राणा शासन, प्रजातन्त्र, पञ्चायत, जनआन्दोलन, गणतन्त्र—सबैले यही उपत्यकाको सडकमा आफ्ना पाइला छोडे। मलाई लाग्यो, काठमाडौँका ढुङ्गाहरूले मानिसभन्दा धेरै शासन परिवर्तन देखेका छन्। उनीहरू बोल्दैनन्। तर सबै सम्झिराखेका छन्।
त्यो बिहान हामीलाई काठमाडौँ कुनै राजधानीभन्दा बढी एउटा प्रश्नजस्तो लागिरहेको थियो। मानिस किन यात्रा गर्छ? के नयाँ ठाउँ हेर्न? के रमाइलो गर्न? वा के आफूभित्रको कुनै खालीपन भर्न ? मलाई लाग्छ, मानिस वास्तवमा बाहिरको संसार हेर्न निस्कँदैन; ऊ आफ्नै भित्र हराएको कुरा खोज्न निस्कन्छ। शहरहरूले मानिसलाई विस्तारै आफूबाट टाढा बनाइदिन्छन्। जिम्मेवारी, भीड, सफलता र प्रतिस्पर्धाले मानिसको मौलिक आवाज ढाकिदिन्छन्। अनि कुनै दिन ऊ पहाडतिर निस्कन्छ—केवल आफ्नै मौनता फेरि सुन्न।
गाडी कलंकीबाट पूर्वतर्फ मोडियो। बिस्तारै शहर पछाडि छुट्न थाल्यो। कोटेश्वरका बत्तीहरू धुम्म हुँदै गए। भक्तपुरतर्फ बढ्दा बिहानको हल्का उज्यालो आकाशमा फैलिन थाल्यो। पुराना नेवारी घरहरू कुहिरोभित्र अस्पष्ट देखिन्थे। त्यही क्षण मलाई लाग्यो—सभ्यता जति पुरानो हुन्छ, त्यति नै मौन हुन्छ। पुराना शहरहरू धेरै बोल्दैनन्। उनीहरू केवल समयको भार बोकेर उभिएका हुन्छन्।
भक्तपुर कुनै साधारण नगर होइन। यो मध्यकालीन नेपाल मण्डलको सांस्कृतिक राजधानी थियो। यक्ष मल्लको राज्य विभाजनपछि कान्तिपुर, ललितपुर र भक्तपुर तीन मल्ल राज्य बने। तीबीच प्रतिस्पर्धा भयो। तर त्यही प्रतिस्पर्धाले नेपाललाई विश्वकै उत्कृष्ट काष्ठकला, धातुकला, मन्दिर र दरबारहरूको सम्पदा दियो। इतिहासको एउटा विडम्बना यही हो—कहिलेकाहीँ प्रतिस्पर्धाले पनि सभ्यता जन्माउँछ। युद्धले विनाश मात्र गर्दैन; कहिलेकाहीँ सृजनाको आकांक्षा पनि जगाउँछ।
भक्तपुर पार गरेपछि बनेपातर्फको सडक खुल्न थाल्यो। पहाडहरू टाढासम्म फैलिएका थिए। हावा चिसो हुँदै गइरहेको थियो। गाडीको झ्यालबाट बाहिर हेर्दा लागिरहेको थियो—हामी एउटा स्थानबाट अर्को स्थानमा गइरहेका छैनौँ; हामी मानसिक रूपमा पनि परिवर्तन हुँदैछौँ। शहरको कोलाहल बिस्तारै हराइरहेको थियो र भित्र कुनै पुरानो शान्ति फर्किँदै थियो।
बनेपा बिहानको सुनौलो प्रकाशमा ब्यूँझिरहेको थियो। यो कुनै सामान्य बजार थिएन। तिब्बत, काठमाडौँ र मिथिलालाई जोड्ने ऐतिहासिक व्यापारिक मार्गको एउटा महत्त्वपूर्ण केन्द्र। नुन, ऊन, सुन, मसला, कपडा र विचार—सबै यही बाटो भएर हिँडेका थिए। सभ्यता केवल सेनाले विस्तार गर्दैन। व्यापारीहरूले पनि विस्तार गर्छन्। किनकि जहाँ व्यापार पुग्छ, त्यहाँ भाषा पुग्छ। संस्कृति पुग्छ। दर्शन पुग्छ। इतिहासको एउटा अदृश्य अध्याय सधैँ व्यापारिक मार्गहरूमा लेखिएको हुन्छ।
हामीमध्ये एक जना साथीले झ्यालतिर हेर्दै बिस्तारै भन्यो, “इतिहास कहिल्यै मर्दैन रहेछ।” त्यो वाक्य केही क्षण गाडीभित्र तैरिरह्यो। मैले बाहिर हेरेँ। साँच्चै, इतिहास भवनहरूमा मात्र बस्दैन। भवनहरू त भत्किन्छन्। सडकहरू फेरिन्छन्। साम्राज्यहरू हराउँछन्। तर इतिहास मानिसहरूको स्मृतिमा बाँचिरहन्छ। कुनै बूढो मानिसको कथामा। कुनै पुरानो मन्दिरको घण्टीमा। कुनै शहरको मौनतामा। इतिहास अन्ततः स्मृतिको निरन्तरता हो।
भकुण्डेबेसीतिर झर्दै गर्दा बीपी राजमार्गले हामीलाई अर्को कथा सुनायो। यो केवल एउटा आधुनिक राजमार्ग होइन। नेपालको पूर्व र राजधानीलाई जोड्ने विकासको मेरुदण्ड हो। तर यसभन्दा धेरै पुराना बाटाहरू यही पहाडमा थिए। तामाङ, नेवार र पहाडी व्यापारीहरूले सयौँ वर्षसम्म यही भूगोल पैदल पार गरेका थिए। उनीहरूका काँधमा सामान मात्र थिएन। सभ्यताहरू पनि थिए। बाटाहरू कहिल्यै केवल यात्राका लागि बन्दैनन्। तिनीहरूले इतिहासलाई दिशा दिन्छन्।
भकुण्डेबेसीमा हामी चिया खान रोकियौँ। एउटा सानो पसल। पुरानो काठको बेन्च। चुल्होमाथि उम्लिरहेको चिया। कुनामा एउटा बूढो रेडियो बजिरहेको थियो। समाचारमा राजनीति थियो। भ्रष्टाचार थियो। अस्थिरता थियो। तर पसलअगाडि उभिएको किसान भने आकाशतिर हेर्दै थियो। उसलाई चुनावभन्दा वर्षाको चिन्ता थियो। त्यही बेला मलाई लाग्यो—राज्यको इतिहास राजधानीले लेख्छ। तर सभ्यताको इतिहास किसानले लेख्छ। किनकि अन्नबिना कुनै राज्य टिक्दैन।
बीपी राजमार्गका घुम्तीहरू सुरु भए। तल सुनकोशी चम्किरहेको थियो। सुनकोशीले मलाई केवल नदीजस्तो लागेन। यो हिमालय र गङ्गाको बीचको प्राचीन सभ्यतागत संवाद थियो। यिनै नदीहरूले पहाड र मधेशलाई जोडेका थिए। यिनै जलमार्गको किनार हुँदै मानिसहरू बसाइँ सरे। संस्कृतिहरू मिसिए। सभ्यताहरू विकसित भए। नदीहरू पानी मात्र बगाउँदैनन्। उनीहरू इतिहास पनि बगाउँछन्।
खुर्कोट पुग्दा घाम राम्ररी उदाइसकेको थियो। तीन जिल्लाको सङ्गम। तीन भूगोलको मिलन। यस्ता सङ्गमहरू केवल नक्सामा हुँदैनन्। इतिहासमा पनि हुन्छन्। संस्कृति पनि यस्तै सङ्गमबाट जन्मिन्छ। एउटै पहिचानले होइन; अनेक पहिचानहरूको मिलनबाट।
दिउँसोतिर हामी हलेसी पुग्यौँ। ढुङ्गाभित्रको अध्यात्म। गुफाभित्रको मौनता। किराँत सभ्यता, हिन्दू दर्शन र बौद्ध आध्यात्मिकताको अद्भुत सङ्गम। हलेसी पुगेपछि मलाई नेपाल एउटा राष्ट्रभन्दा धेरै सभ्यताहरूको जीवित संग्रहालयजस्तो लाग्यो। यहाँ धर्महरू प्रतिस्पर्धा गर्दैनन्। उनीहरू सहअस्तित्वमा बाँच्छन्। यही हिमालयको सबैभन्दा ठूलो दर्शन हो।
हलेसी महादेवको गुफाभित्र पस्दा चिसो हावा शरीरमा ठोक्कियो। भित्र दीपको धुवाँ थियो। घण्टीको आवाज थियो। प्रार्थनामा झुकेका मानिसहरू थिए। तर त्यो गुफामा सबैभन्दा ठूलो कुरा मौनता थियो। इतिहासले मानिसलाई यहाँ ल्याएको थियो। आस्थाले उसलाई झुकाएको थियो। र मौनताले उसलाई आफ्नै आत्मासँग भेट गराइरहेको थियो। त्यही बेला मैले महसुस गरेँ—मानिसले संसारभर मन्दिर, गुम्बा, मस्जिद र चर्च बनायो। तर ती सबै संरचनाहरूको अन्तिम उद्देश्य एउटै रहेछ—भित्रको भयलाई शान्तिमा रूपान्तरण गर्नु। सभ्यताको सबैभन्दा ठूलो उपलब्धि भवन होइन; चेतनाको विकास हो।
हलेसीबाट खोटाङतर्फको बाटो कठिन थियो। कच्ची सडक। तर त्यही कठिनाइभित्र पूर्वी नेपालको वास्तविक सौन्दर्य थियो। पहाडहरू क्रमशः गहिरा हुँदै गए। राई बस्तीहरू देखिन थाले। ढुङ्गाले छाएका घरहरू, कोदोबारी, कागतिका बोटहरू र टाढासम्म फैलिएको मौनता। यहाँ जीवन आधुनिकताको हतारभन्दा धेरै टाढा थियो। यहाँका मानिसहरू समयसँग दौडिरहेका थिएनन्; उनीहरू समयसँगै बाँचिरहेका थिए।
कुनै समय यही भूभाग माझकिराँत कहलिन्थ्यो। दूधकोशीदेखि अरुणसम्म फैलिएको किराँती सभ्यता। खम्बुवानको आत्मा। सेन राजाहरूको प्रभाव। र पछि पृथ्वीनारायण शाहको एकीकरण अभियान। पूर्वी पहाडका यी भूगोलहरू प्रशासनिक सीमाभित्र मात्र बन्द ठाउँहरू होइनन् यी स्मृतिका प्रदेशहरू हुन्। यहाँका डाँडाहरूले युद्ध देखेका छन्, विस्थापन देखेका छन्, संस्कृतिको परिवर्तन देखेका छन्। इतिहासलाई हामी प्रायः विजयको भाषामा पढ्छौँ कसले जित्यो, कसले शासन गर्यो, कसले राज्य विस्तार गर्यो। तर इतिहासको अर्को मौन पाटो पनि हुन्छ घर छोड्न बाध्य भएका मानिसहरू, हराउँदै गएका भाषाहरू र समयसँगै बिस्तारै विस्मृतिमा डुबेका सभ्यताहरू। शायद त्यसैले पहाडका मानिसहरूको आँखामा अलिकति उदासी हुन्छ। त्यो उदासी व्यक्तिगत होइन; त्यो पीढीहरूको स्मृति हो।
साँझ पर्न थालेको थियो जब हामी तुवाचुङ पुग्यौँ। किराँत सभ्यताको स्मृति बोकेको पहाड। यहाँको हावा अन्यत्रभन्दा फरक लाग्थ्यो। जस्तो यसले केवल चिसोपन होइन, पुराना कथाहरू पनि बोकेको थियो। वनहरू मौन थिए, तर त्यो मौनताभित्र हजारौँ वर्षका आवाजहरू थिए। कुनै समय यही डाँडामा किराँती सभ्यताका गीतहरू गुञ्जिएका होलान्। यही वनबाट शिकारीहरू गुज्रिएका होलान्। यही आकाशमुनि पुर्खाहरूले आफ्नो अस्तित्वलाई प्रकृतिसँग जोडेर बाँच्ने दर्शन निर्माण गरेका होलान्। तुवाचुङ पुग्दा मलाई लाग्यो सभ्यता भवनहरूले मात्र निर्माण हुँदैन सभ्यता स्मृति र प्रकृतिको सम्बन्धबाट निर्माण हुन्छ।
पहिलो रात हामी त्यहीँ बस्यौँ। रात गहिरिँदै गयो। आकाश ताराले भरियो। काठमाडौँमा हराएको आकाश यहाँ फेरि भेटिएको थियो। शहरहरूले मानिसलाई कृत्रिम उज्यालो दिन्छन्, तर त्यसको मूल्यमा उनीहरूले ताराहरू खोसिदिन्छन्। पहाडमा भने रात अझै रातजस्तै हुन्छ। गहिरो। मौन। अनन्त। हामी आगो वरिपरि बस्यौँ। चिया पियौँ। थकान बिस्तारै शरीरबाट निस्कँदै थियो। यात्रामा मानिसहरू कहिलेकाहीँ धेरै बोल्दैनन्, किनकि प्रकृतिको विशालता अगाडि शब्दहरू साना लाग्न थाल्छन्।
तमोर करिडोर हुँदै यात्रा अगाडि बढ्दै जाँदा प्रकृतिले आफ्नो अर्को रूप देखाउन थाली। यहाँका पहाडहरू केवल ढुङ्गाका थुप्रा थिएनन्। उनीहरू जीवित थिए। साँझको सुनौलो घामले पहाडका वक्षस्थलमा उज्यालोको मृदु स्पर्श राखिरहेको थियो। हरिया वनहरू पृथ्वीका लामा केशजस्ता हावामा बिस्तारै लहराइरहेका थिए। तल तमोर नदी ती पहाडहरूको काखमा निरन्तर बगिरहेकी थिई—मातृत्व, सृजना र जीवनको अनन्त लय बोकेर।
मलाई अचानक लाग्यो, प्रकृतिको सौन्दर्यलाई केवल आँखाले हेर्न सकिँदैन। त्यसलाई अनुभूतिले स्पर्श गर्नुपर्छ। पृथ्वी आफैँ एक स्त्रीजस्तै रहिछे—सहने, जन्म दिने, पोस्ने र फेरि पनि मौन रहने। उसका काखमा वनहरू उम्रन्छन्। नदीहरू जन्मिन्छन्। बीउहरू अंकुराउँछन्। ऋतुहरू परिवर्तन हुन्छन्। सृष्टिको सम्पूर्ण चक्र यही मातृत्वमा टिकेको छ।
हावाले गुराँसका हाँगाहरू हल्लाउँदा लाग्थ्यो, मानौँ पृथ्वी आफ्नै शरीरमा समयको संगीत महसुस गरिरहेकी छे। पहाडका कोमल भिरालाहरू, नदीका घुमाउरा मोडहरू, कुहिरोले ढाकेका वनहरू—यी सबैमा एउटा स्वाभाविक लय थियो। कुनै कृत्रिम प्रदर्शन थिएन। कुनै बनावटी आकर्षण थिएन। केवल जीवन आफैँ आफ्नो सम्पूर्ण सौन्दर्यमा प्रकट भएको थियो। त्यही क्षण मैले बुझेँ—सौन्दर्य शरीरमा मात्र हुँदैन। सृजनामा हुन्छ। मातृत्वमा हुन्छ। जीवनलाई निरन्तर जन्माइरहने क्षमतामा हुन्छ। पृथ्वी त्यसैले सबैभन्दा सुन्दर छ, किनकि उसले केही माग्दिन। ऊ केवल दिन जान्दछे। नदीलाई मार्ग दिन्छे। वनलाई आश्रय दिन्छे। मानिसलाई घर दिन्छे। र अन्तिम विश्राम पनि आफ्नै काखमा दिन्छे।
सायद यही कारणले प्राचीन सभ्यताहरूले पृथ्वीलाई "आमा" भने। उनीहरूले माटोलाई वस्तु होइन, चेतनाको स्रोत माने। पहाडलाई देवता, नदीलाई देवी र वनलाई जीवनको गर्भ ठाने। आधुनिक विज्ञानले यसलाई पारिस्थितिकी भन्छ। दर्शनले अस्तित्व भन्छ। तर अनुभूतिले यसलाई एउटै शब्द दिन्छ ,प्रकृति।