खोटाङ । जिल्ला अस्पतालले रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टि भएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङलाई ‘शिल’ गरिएको छ ।
जिल्ला अस्पतालले भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पुर्याइएकी १६ वर्षीय बालिकालाई कोरोना संक्रमण भएको पूष्टि भएपछि अर्को व्यवस्था नभएसम्मका लागि वडालाई ‘शिल’ गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए ।
ज्वरोबाट बिरामी परेकी बालिकालाई भदौ ८ गते कोरोना पोजिटिभ देखिएपछि संक्रमित बालिकाको परिवारका सदस्य, घुलमिल भएका छिमेकी, बिरामी ओसार–पसारमा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको पिसिआर परिक्षणका लागि बुधबार नमूना संकलन गरिएको र सो को रिपोर्ट नआएसम्मका लागि बुधबारदेखि वडालाई ‘शिल’ गर्ने निर्णय गरिएको वडाध्यक्ष राईले बताए ।
वडा कार्यालयको बुधबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि दैनिक उपभोग्य सामग्री खरिद तथा अतिआवश्यक काम बाहेकमा आवत–जावत गर्न रोक लगाउने निर्णय गरेको छ ।
भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यमा सुधार नआएपछि अन्यत्र रेफर गरिएको थियो । रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टि भएपछि मंगलबारदेखि जिल्ला अस्पतालको आकस्मिक तथा प्रसुती बाहेकका सेवा बन्द गरिएको छ ।
बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताए ।