खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले किसानलाई मकैको बीउ वितरण सुरु गरेको छ । मकै छर्ने सिजन सुरु हुन लाग्दा गाउँपालिकाले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र काठ्माडौंबाट प्राप्त अनुदानबाट किसानलाई उन्नत जातको बीउ बितरण सुरु गरेको हो ।
गाउँपालिकाका ७ वडाका किसानलाई मनोकामना–३ र रामपुर कम्पोजिट जातको ४ हजार ३ सय केजी मकैको बिउ वितरण गर्ने तयारी गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताईन् ।
बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र र किसानको ५० प्रतिशत लागत सहभागीतामा मकैको बिउ बितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
किसानलाई मकैको बिउ वितरणका लागि बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले ५ लाख ६८ हजार अनुदान उपलव्ध गराएको थियो ।
वडा–वडाबाट तथ्यांक संकलन गरेर किसानको मागको आधारमा उन्नत मकैको बिउ वितरण सुरु गरिएको कृषि शाखा संयोजक बुढाथोकीले बताईन् । किसानलाई ३ सय केजी हाइब्रिड बीउ भने वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।