खोटाङ । खोटाङका बैदेसिक रोजगारमा संलग्न परिवारमध्ये ७६ प्रतिशतले व्यवसायिक योजना बनाएर आयआर्जन सुरु गरेका छन् ।
बालसेवा समाज नेपाल नेर्पाले सोमबार दिक्तेलमा आयोजना गरेको सुरक्षित आप्रवासन सम्वन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) ले आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा वित्तीय साक्षरता कक्षामा सहभागी भएका बैदेसिक रोजगारमा संलग्न परिवारमध्ये ७६ प्रतिशतले व्यवसायिक योजना बनाएर विभिन्न व्यवसाय अपनाएर आयआर्जन सुरु गरेको जानकारी दिइएको हो ।
बालसेवा समाजको सभाहलमा आयोजित कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रम संयोजक सन्तोष राईले वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाव राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको जानकारी दिएका छन् ।
वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना) ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ ।
बैदेसिक रोजगार सम्वन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका १ हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफुले एजेण्टलाई पैसा तिरे बराबरको भर्पाई लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिए ।
यस्तै, आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७÷०७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्धार जेल, मृत्युदावी भुक्तानी तथा अंगभंग लगायतका ५८ वटा केश आएकामध्ये २९ वटा सफल भएको, २२ वटा प्रकृयामा रहेको र ७ वटा असफल भएको परियोजनाले जनाएको छ ।
पछिल्लो समय वैदेसिक रोजगारीका क्रममा ठगीका नयाँ–नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले बताईन् । कार्यक्रम बाल सेवा समाजका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको प्रमुख आतिथ्यता एवं उपप्रमुख बिणादेबी राईको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपाल सरकार र स्वीस सरकार वीच भएको सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्धारा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपीलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ ।
वैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, निःशूल्क सिप तथा तालिम, निःशूल्क कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालन लगायतका काम गर्दै आएको छ ।