हे,
मेरा परम भक्तहरु
तिमीहरु मेरा कुरा राम्ररी सुन
तलमाथि गरेऊ भने
तिमीहरुको भविष्य स्वाहाँ हुनेछ ।
म जे भन्छु
त्यही गर्नुपर्छ
त्यो तिम्रो कर्तव्य हो ।
यो बेला
राम मन्दिर बनाऊ
लक्ष्मण मन्दिर बनाऊ
सिता मन्दिर बनाऊ
र बीचमा
मेरो पनि मन्दिर बनाऊ ।
विरोधी सखाप पार्न
रामबाट सिक्नुपर्छ
रेखा कोरेर कित्ताकाट गर्न
लक्ष्मणबाट सिक्नुपर्छ ।
जिद्धी गरेर जिती छाड्न
सिताबाट सिक्नुपर्छ ।
लक्ष्मणले,
दाजु भाउजु भन्दै
जसरी बिर्सनुभो सबैथोक
बुवाआमा श्रीमति र घर
त्यसरी नै तिमीले पनि
मैले भनेपछि बिर्सनुपर्छ
देश, माटो र जनता ।
बिहानदेखि बेलुकैसम्म
गाइरहनुपर्छ मेरो भजन ।
पैसाको फिक्री नगरी
मन्दिर बनाऊ
राम, लक्ष्मण र सिताभन्दा
केही कम छैन म पनि
उनीहरुको सखी
र मेरो प्रवृत्ति
ठ्याक्कै एउटै हो ।
पत्यार नलागे
प्रशस्त फलफूल बोकेर
एकबिहानै पशुपति जानु ।
ओ अन्तरे
के चेपाङको कुरा गरेको
ति रंग नभएका हुन
ढंग नभएका हुन
कमाउन नजान्ने
खान नजान्ने
हुत्तिहारा हुन
भत्काइ देऊ
तिनीहरुका थोत्रे छाप्रा
जलाइदेऊ थाङ्नाथुङ्नी
फाल्देऊ थोत्रा भाडावर्तन
खेदिदेऊ तिनीहरुलाई जंगलतिर ।
यो जनताको सरकार हो
बलियो छ, शक्तिशाली छ
त्यही भएर
यहाँ बलिया बाच्नुपर्छ
साहसी बाच्नुपर्छ
धनी बाच्नुपर्छ
महलवाला बाच्नुपर्छ
मनुपर्छ चेपाङहरु
मर्नुपर्छ गरिवहरु
किनकी
म मन्दिर बनाउन चाहन्छु ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, खोटाङ