खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाभित्र अत्यावश्यक वाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने कुरालाई मध्यनजर गर्दै गाउँपालिकाभित्र अत्यावश्यक र विशेष परिस्थितिमा वाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
सोमबार गाउँपालिकामा बसेको बैठकले भदौ १५ गतेदेखि भदौ ३० गतेसम्म अत्यावश्यक र विशेष परिस्थिति बाहेक सवै कार्यालय, व्यापार/व्याबसाय, बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिए । साथै, गाउँपालिकाबाट चल्ने सम्पूर्ण सवारी साधन आवत–जावतमा पनि रोक लगाउने निर्णय भएको छ ।
गाउँपालिकाबाट सम्झौता भई कार्यान्वयन भइरहेका आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्दा गाउँपालिकाबाट स्वीकृति लिनुपर्ने तथा १८ भदौसम्म खाद्यान्न खरिद र बैंक तथा वित्तिय संस्थाबाट दुरी कायम गरेर अति आवश्यक काम गर्नर गराउन पाउने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गर्न गाउँपालिकाको निर्णय कार्यान्वयन गरी सहयोग पुयाउन सरोकारवाला कार्यालय, संघसंस्था, नागरिक समाज सवैमा अनुरोध गरेको छ ।