कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानलाई आफ्नो स्वास्थ्यको भन्दा मल पाउने/नपाउने चिन्ताले सताएको छ । युरिया मलको चरम अभाव हुँदा चितवनका किसान मर्कामा परेका छन् ।
धानवालीमा मल हाल्ने समय हुँदासमेत बजारमा मल नपाउँदा किसान मर्कामा परेका हुन् । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानै देखि लाइनमा बस्ने गरेका छन् । महामारीको चुनौतीका बावजुद पनि मलका लागि बिहानैदेखि लाइन बस्नु परेको किसानको गुनासो रहेको छ ।
गत वर्षमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल बिक्री भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै बिक्री गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले बताए । अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल बिक्री भइरहेकोमा यो वर्ष किसानले पर्याप्त मल प्राप्त गर्न नसकेको उनले बताए ।
चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनीमार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ । साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरेता पनि कृषि सामाग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो ।
मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ । कोरोना महामारीको बहानामा देशभरी मल अभाव हुँदा किसान मर्कामा परेका छन् । नेपाल सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ । अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो ।