खोटाङ । सँगै बा¥हखरी छिचोलेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्माका धेरैजसो साथीसंगी सरकारी वा निजी क्षेत्रमा जागीर गर्छन् । कतिपय साथीभाई रोजगार खोज्दै विदेश पुगेका छन् । तर, उनी भने आफ्नै गाउँमा व्यवसायिक रुपमा कृषि कर्ममा रमिरहेका छन् ।
विशेषगरी गोलभेँडा र सिताके च्याउ खेतीलाई प्रामिकतामा राखेका विश्वकर्माले अकबरे खुर्सानी, काउली, बन्दा, भान्टा लगायतका मौसमी तरकारी खेती पनि लगाउने गरेका छन् । करिब १२ रोपनी जग्गामा कृषि खेती गरिरहेका गंगाले वार्षिक २ देखि ३ लाख बचत हुने गरेको बताए ।
‘कृषिमा व्यवसायिक बन्ने सपना बोकेर लागियो । मेहनत गरे अनुशार सफलता पनि मिलेको छ,’ विश्वकर्माले भने, ‘घर खर्च कटाए वर्षमा दुई÷तीन लाख बचत गर्न पुगिरहेको छ । आफ्नो कर्मबाट सन्तुष्ट छु ।’
लेखपढ गरेका मान्छेले खेतीपातीको काम गर्नुहुन्न भन्ने मान्यता छ । त्यही भएर लेखपढ गरेका व्यक्ति कृषि कर्ममा लाग्न हिचकिचाउँछन् । तर, ‘कृषिलाई व्यवसायिक बनाउन र स्वरोजगार बन्नका लागि पढालेखा भएकै मान्छे अघि सर्नुपर्छ’ भन्ने सोँचका साथ गंगा २०६१ सालदेखि नै कृषि पेशामा लागेका हुन् । व्यवसायिक रुपमा कृषि पेशा अपनाउनकै लागि उनले २०७४ सालमा खोटाङ कृषि फर्म दर्ता गरेका छन् । हाल उनको घर वरपरको बारीमा १४ वटा प्लाष्टिक टनेल हालिएका छन् ।
त्यसमध्ये तीन वटा टनेलभित्र च्याउ खेती लगाउने गरिएको छ । बाँकी ११ वटा टनेलभित्र गोलभेँडा, खुर्सानी, भान्टा, तिते करेला लगाइएको छ । उनको कृषि फर्ममा उत्पादित तरकारी घरबाटै बिक्री हुने गरेको छ । कतिपय सिजनेवल तरकारी दिक्तेलबजारमा पु¥याउने गरिएको विश्वकर्माले वताए । उनी समाजशास्त्रमा स्नातकोत्तरको पढाई पुरा गर्दैछन् ।
स्थानीय तह कार्यान्वयनमा आएपछि उनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्यको भूमिका पाएका छन् । नगरपालिकामा जानु, कार्यपालिकाको बैठकमा उपस्थिति जनाउनु बाहेक उनका अधिकांश समय कृषि फर्ममा बित्ने गरेको छ । उनका कृषि फर्ममा कतिपय कृषिसँग सम्वन्धित शिक्षक र विद्यार्थी अध्ययन भ्रमणमा आउने गरेका छन् ।
‘बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अन्यत्र जान परे पनि बिहान बेलुका कृषिको काममा व्यस्त रहन्छु,’ विश्वकर्माले भने, ‘आफ्नो फर्ममा झार गोडिरहेको हुन्छु, बोटविरुवालाई पानी हालिरहेको हुन्छु । रोग किरा नियन्त्रणको काम गरिरहेको हुन्छु ।’
कृषि सम्वन्धी सीप र दक्षता हासिल गरेका कारण उनी कहिलेकहीँ कृषि सम्वन्धी तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नका लागि विभिन्न ठाउँमा पुग्ने गरेका छन् । उनले शोखका लागि घर नजिक चार वटा पोखरीमा माछा समेत पालन गरिरहेका छन् । सिजनकाबेला खोटाङ कृषि फर्ममा उत्पादित च्याउ गाउँदेखि दिक्तेलबजारसम्म पुग्ने गरेको छ ।