शुक्रवार, भाद्र २६ गते २०८३

मेरुदण्डको उपचार खोजीरहेछ रुपाकोट

मेरुदण्डको उपचार खोजीरहेछ रुपाकोट

रोदिक खबर

१२, श्रावण २०८१
  • 12.1K
    SHARES
  • मेरुदण्डको उपचार खोजीरहेछ रुपाकोट

    "सुस्तामा पनि अझै मान्छे छन् र ? कति भोट आउँछ हँ त्यहाँबाट ?" मुडेबाट रुपाकोट जाने बाटो हिड्दै लाली फलाँटे सिस्ने गाउँलाई नियाल्ने हो भने नेपाली चलचित्र 'दशगजा'मा मन्त्रीको भुमिकामा रहेका एक पात्रले बोलेको यही संवादको झल्को आउँछ ।

    लेकाली हावापानीमा सास फेरेर बिकास र समृद्धि आउने आशामा बाँचिरहेको यो सुन्दर पातलो बस्ती पनि कतै यस्तै राजनीतिक स्वार्थको शिकार त भएको होइन ? भन्ने प्रश्न जो कोहिको दिमागमा फनफनी घुम्ने गर्छ ।

    जिल्लाको मध्य पहाडी लोकमार्गबाट छुटेर कच्ची बाटो हुँदै निर्माणाधीन सहिदपार्कसम्म पुगेपछि करिब आधा घण्टा पैदल हिडेर रुपाकोट डाँडा पुगिन्छ ।

    सदरमुकाम दिक्तेल बजारबाट उत्तरमा करिव २७०० मिटर उचाइ हाँसिल गरि जिल्लाकै गौरव बनेर प्राकृतिक भ्यू टावरको रूपमा उभिएको यस रूपाकोट डाँडाबाट खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका अधिकांस ठाउँहरूको दृश्यावलोकन गरिनुका साथै मकालु, सगरमाथा, ल्होत्से लगायत दर्जनौँ मनोरन हिमशृङ्खलाहरु पनि देख्न सकिन्छ ।

    यस क्षेत्रका सुन्दर डाँडाकाँडा, थुम्का, चौर, हरियाली पाखापखेरा, चराको चिरबिर, लेकाली धुपी सल्ला, चैत बैशाखमा ढकमक्क फुल्ने लाली गुराँसले जो कोहिलाई पनि मोहित बनाउँछ ।

    तर विकासको मेरुदण्ड मानिएको सडक नै लथालिङ्ग भएको कारण सम्भावनाका ढोकाहरु खुल्न सकेका छैनन् ।लोकमार्गबाट सहिदपार्क सम्मको करिव २ किलोमीटर सडक निर्माण सम्पन्नताको अभावमा अलपत्र बनेको छ ।IMG-20240727-WA0004.jpg

    ३ वर्ष पहिलेको स्थानीय सरकारले छुट्याएको न्यून बजेटमा स्थानीय बासिन्दाको पनि लगानी र सकृयता मिसाएर ट्रयाक मात्रै खोल्ने काम भएको थियो, तर त्यसपछिका आर्थिक वर्षहरुमा यस सडकको लागि बजेट विनियोजन तथा निर्माणमा प्रदेश र स्थानीय दुबै सरकारको ध्यान पुग्न सकेको छैन ।

    IMG-20240727-WA0005.jpgहिउँदमा जसोतसो ट्याक्टर चले पनि बर्खामा हिलाम्मे तथा खाल्डाखुल्डी बनेर बाइकसम्म पनि चल्न सक्दैनन् । घुम्ने रहर बोकेर आएका (पर्यटक)हरु तथा दिनहुँ हिंडुल गर्ने स्थानीयहरु कष्टपुर्ण यात्रा गर्न विवश छन् भने कतिपय पर्यटकहरु बीच बाटोबाटै निराश भएर फर्किने गरेका छन् ।IMG-20240727-WA0002.jpg

    रुपाकोट जाने पदमार्ग सुरु हुने स्थानमै वर्षाैंदेखि निर्माण सम्पन्न नभएको निर्माणाधीन सहिदपार्कको पनि लथालिङ्ग अवस्था देख्नेहरुलाई यस्तो लाग्छ कि "बाटोको हालत खराब भएको कारणले गर्दा नै सहिदहरु यो सहिदपार्कमा आएर बस्न अस्विकार गरेका त होइनन् ?"

    यस सडकको निर्माण भएमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरि पर्यटन क्षेत्रमा सहयोग पुग्नुका साथै दर्जनौं घर धुरी समेत लाभान्वित हुनेछन् ।

    किवि/स्याउ/नास्पती/आलु/चिया/कफि/अल्लो खेती, मौरी/रेन्बो ट्राउट माछा/भेडा/च्याङ्रा पालन, औषधिजन्य वनस्पति र जडिबुटी आदिको उर्वर मानिएको यस ठाउँले कृषि क्रान्तिमा समेत टेवा पुर्याउन सक्छ ।

    त्यसैले तत्काल आवतजावत सहज बनाउन कम्तीमा पनि नाली/ड्रेन बनाई सोलिङ/ग्राभेलिङ गर्नुपर्ने आवश्यकता छ ।

    रुपाकोट आफुलाई पूर्वको सराङकोट/नगरकोट/चन्द्रागिरी दाबी गरिरहेछ तर प्रदेश सरकार र स्थानीय सरकारको बेवास्ता कहिलेसम्म ?

    (लेखक थापा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका युवा नेता हुन् । )

    प्रकाशित मिति :श्रावण १२, २०८१ शनिवार - १७:५६:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको