विहानको झुल्के घामको हल्का लालिसँगै पाहारिलो राप, सूर्यका रश्मीहरु पूर्व क्षितिजबाट मधुर मुस्कानसहित लामा लामा तिखा सुइराले पृथ्वी नै छेडुला जस्तो गरेर धरतीमा टेकेका, मन बहलाउने हल्का सिरेटो सुस्त रुपमा चलिरहेको अनि अनौठो मधुर संगीतमा चराचुरुंगीहरु खुशीको झंकार ओकलिरहेका ।
रंगिन डाँफे र मयुरहरु बेजोडसँग उल्लासमय नाँचोमा रमाइ रहेका,पलासका फूलहरुमा भमरा अनि माहुरीको कर्ण प्रिय मधुर भुनभुन आवाज, त्यो सुन्दर, हरियाली जंगलका एउटा रुखदेखि अर्को रुखसम्म माकुराले आफ्नो शिकार फसाउने बुनेको तान जस्तो कलात्मक जालो जस्मा पानीका सूक्ष्म बुदहरु अनि घाम टलक्क टलकिदा देखिने मोतिझँ ैचमक ।
छेउमा कलकल बग्ने संग्लो अनि चिसो पानी रहेको सेतोझरना,त्यहि झरनाको छरछर गर्ने पानीको कपास झैँ सेतो फोहोरामा देखिएको सप्त रंगी मनै लोभ्याउने इन्द्रेणी अनि लामो त्यहि झरनाले बनाएको मनोरम निलो सफा पोखरीमा जल कपुर जातका माछाहरु सल्बलाउदै पौडिरहेको हेरि रहँु जस्तो मनमोहक दृश्य ।
पोखरीको वरिपरी डिलमा उम्रेका कर्कला जातका साना बुट्टाहरु र तिनीहरुका पात माथि मोति झैँ अडिएका पानीका गोला बुदहरु र वरिपरी मनमोहित बनाउने सुन्दर दृश्यावली अनि त्यसको ठिक मुनि एउटा बाक्लो बस्ति । कसको पो मन नलोभिदो हो यो अमरापुरी हेर्दा अनि नजिकबाट यस्तो प्रकृति धित मरुन्जेल नियाल्दा ।
कसले पो यो सुन्दर स्थानलाई इन्द्रको स्वर्गसग तुलना गर्दैन होला र ? कसको दिल बहलिदैन यस्तो सुन्दर स्फटिक नेत्रपान गर्दा । दश वर्ष विदेशको उराठ लाग्दो, धुवा, धुलो, कोलाहलयुक्त अनि निसासिदो र बिरसिलो पराइ भूमिमा तड्पिदै पसिनासँग श्रम साटेर उत्साहित बन्दै फर्केको रोहन उहि बिदेशी क्यामेरा बोकेर यहि आएर प्रकृति नियाल्छ, ताजा स्वच्छ हावा फोक्सो फुल्ने गरि तान्छ,आँखा चिम्म गर्छ, नौलो अनि स्वर्गीय अनुभूति गर्दै कैद गर्छ वरिपरिका ती छरपष्ट अनमोल बिम्बहरु क्यामेराको भण्डार भरियो तर उसको धित मरेंन,कैद गर्नुपर्ने दृश्यहरु अझै बग्रेलती नै छन् ।
केहि सजिव चित्रण हृदय भरि राख्छ अनि केहि आफ्नो डायरी झिकेर कवित्व मन पगाल्छ, साहित्यिक अनुराग चल्मलाउछ, मनोभावना छताछुल्ल पोख्छ ्रपाखा भरि सेतै फुलेका चिमाली अनि राता लटरम्म फुलेका गुरासका फूलहर अनि प्रत्येक थुगा थुगामा अमृत बटुल्न रस चुसिरहेका माहुरी भमरा अनि तिनलाई सिकार बनाउन बेसुर ढंगले छिर्केनी लाउदै गरेका साना सिकारी चराहरुको झुण्ड, हावासँगै बहेली खेल्दै गरेको अर्घेलिका सेतै फूलहरु अनि पारिपट्टि कुहुकुहु गर्दै धुपी सल्लाको हागामा बसेर आफ्नै धुनमा गाइरहेको कोइलीको मधुर कर्ण प्रिय झन्कार ।
क्षितिज पारि देखिने दातका लहर जस्तो सेतै हिमाल अनि घाम टल्किएर बनेको भोक प्यास मेटाउने प्यानोरमा र केहि तल फराकिलो फाँटमा चरिरहेका चौरी गाइहरुको बथान, खर्कमा उघ्राइ रहेका भेडाहरुको ठूलो समुह, दुबोले राज गरेको फराकिलो चौरमा सेतै फुलेका बुकीफूलको मिठो मगमग बासना र पुतलीहरुको अलौकिक अनि अतुलनीय सामुहिक नृत्य आहा !
कसको पो मन नलोभिएला यस्तो अलौकिक दृश्यपान गर्न पाउँदा । रोहण त्यहि फराकिलो चौरमा राडी झैँ बिच्छिएको दुबोमा टेक्छ, सुत्छ, मडारिनछ, निलो गगन, कावा खाइरहेका स्वतन्त्र पंछीहरु, एउटा आखो चिम्म पारेर, हत्केलाको पालि बनाएर हेर्छ अनि सरर्र बहेको हावामा नाच्दै गरेका युगल मुनालहरुको भाव भंगीमा नियाल्छ अनि त्यहि क्यामेरामा हत्तारोमा कैद गर्न भ्याउछ ।
त्यहि टाकुराबाट दक्षिण तर्फटाढा सम्मनजर बिच्छ्याउछ अनि तराइका सुन्दर फराकिला लहलह पहेलपुर धान झुलिरहेका विशाल फाँटहरु देख्छ अनि जुम गरेर क्यामेराभित्र सुलुत्तछिराउँछ ।
घडीमा बेलुकीको पाँच बजेको टिंगटिंग आबाज सगै उ झसंग झस्किन्छ,नास्ताको लागि लगेको हट केस छेउमै देख्छ, प्राकृतिक सुन्दरताले दिनभरी उसको भोक प्यास खोसिसकेको याद आउँछ अनि कपाकप नास्ता खादै, तुम्लेटको पानी घुटक्याउछ अनि वरिपरिको छिटफुट दृश्यमा आखा घुमाउछ, मन फिजाउछ बिस्कुनझैं ।
पश्चिम क्षितिजमा सूर्यले मोहित बनाउने आफ्नो लालिमा छरी सकेको थियो अनि उसको छाया लामो हँुदै गएको थियो बिहान देखिएका सबै चरा चुरुंगीहरु आफ्नो आफ्नो बासस्थानको लागि सजक हुँदै थिए भने झरनामा देखिएको इन्द्रेणी अनि कर्कलोमा देखिएको मोति हराई सकेका थिए, दिउसो चर्नको लागि टाढाटाढा गएका जीव, जन्तु र पन्छिहरु फर्किदै थिए भने कोहि बाटो बिराएर अल्मलिएकाहरु अनौठो आवाज निकाल्दै आफ्नै हुल खोजि रहेका थिए ।
बेलुकीतर्फ पश्चिमतिर बहेको चिसो सरर्र हावाले रोहनको केशरासी फुरुर्र नचाउदै थियो अनि उ संध्या दृश्य कैद गर्न भ्याइनभ्याइ थियो । प्रकृतिको भण्डार, सुन्दर, शान्तदेश मनोरम दृश्यहरुले सिघारिएको देश अनि जलस्रोतको धनि देश विश्वमा अनुपम देशको वृतचित्र बनाएर आफ्नो युटुबमा राखेर विश्वलाई देखाउन,प्रचारप्रसार गर्न अनि भ्रमण गर्नको लागि, निम्ता गर्नको लागि नै रोहण यसरी नेपालका सुन्दर स्थानहरु घुमेर क्यामेरा भर्ने काम गर्छ, सस्मरण बटुल्छ र अनुभूति जम्मा गर्छ ।
ऊ कहिले सुन्दर बस्ति डुल्छ, कहिले १२ धर्म अनि १२६ जात जाति भएको ठाउमा पुगेर पृथक पृथक संस्कार अनि संस्कृतिहरु बटुल्छ,घुलमिल हुन्छ,नेत्र भोजन गर्छ त कहिले ताल तलैया अनि धार्मिक स्थलहरु घुम्दै अनि गुफा ओढार बनस्पति जीव जनावर र पंछीहरु खोजेर आफ्नो प्रधान शोख तृप्त गर्छ ।
यस्तो कार्यबाट उसले आफ्नो शौखीय भोक प्यास र तिर्सना मेटाएको छ, रसापान गरेको छ भने नेपाललाई विश्वमा परिचित गराउदै अनि मनग्गे आम्दानीको स्रोत पनि बनाउदै छ ।
यो उसको पवित्र रमहानकाम हो यसले नेपालको चर्चा परिचर्चा विश्व माझ चिनाउन ठूलो सहयोग गरेको छ भने आफ्नो सबै भूगोल, धर्म, संस्कार, संस्कृति रितिरिवाज अनि विविध भूवनोट नदेखेका हरेक नेपाली मनहरुलाई सचित्र बर्णन हेरेर, सुनेर आन्तरिक पर्यटनको सम्भाव्यतालाई पनि उकासेको छ ।
प्राकृतिक स्रोत साधन अनि भण्डारको खानी,जलस्रोतको धनि देश, हरियाली अनि विषम हावापानी र जंगल भएको देश, सगरमाथाको देश, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश, मन्दिरको देश,बीर गोर्खाली योद्दाहरुको देश, धार्मिक मठ मन्दिर, चैत्य अनि गुम्बा भएको देश, विविध धर्म, संस्कार अनि संस्कृति भएको देश, सर्बजन हिताय, सर्बजन सुखाय, बसुदैब कुटुम्बकम’ जस्तो शान्तिको मूल मन्त्रलाई अगालेर हिड्ने नेपालीहरु, विविध भाषाहरु र भेषभुषा भएको देश, नदि, झरना, ओढार, गुफा, जडिबुटी, हिमालका शिखर, पहाडका टाकुरा अनि विशाल तराइका सुन्दर फाट, दुन बेशी, टार, खोंच, उपत्यका, गल्लि, भन्ज्याङ, चौतारी, सगरमाथाको शिखर देखि केचनाकबल सम्मको भौगोलिक धरातल आदि प्राकृतिक बनोट अनि विश्वमा दुर्लभ जीव जन्तु र पंछीहरु भएको देश,विविध भौगोलिक बनोट, सांस्कृतिक बनोट, भएको देश अहो ! नेपालको बर्णन विश्वमा अतुलनीय र अनुपम छ ।
विश्वमा साहसी,पराक्रमी,पौरखी,जागरिला,जोसिला,सहनशील,क्षमतावान र चतुर जनशक्ति भएको देश, कुनै अरु देशहरु छन् त नेपालसँग दाजिन लायक ? होला विकसित, प्रविधिमा अग्रणी, बैज्ञानिक आविस्कारमा सम्पन्न तर त्यहाँ कृत्रिमताको जलप अनि आडम्बरको खोल ओढेको, निसासिने हावापानी, धुवा धुलो कोलाहल, वैमनस्यता, शक्तिको होड, अस्वस्थ प्रतिस्पर्धा,आणविक होडबाजी कस्तो बिचित्र विश्वको अगाडी शान्त सुन्दर नेपाल ।
बालन संगिनी, लाखे नाच, साकेला सिल्ली नाच, धान नाच, मारुनी नाच, रोधी घर, ठाकठूके नाच, हुर्रे नाच, पुट्पुटे नाच आदि नेपालका सांस्कृतिक विविधताले कसो मन नजित्ला ? परापूर्वकालदेखि स्वतन्त्र रहेको अनि आजसम्म कसैले पनि ठाडो शिर गरेर ललकार्न नसकेको अखण्ड देश जहाँफलाम खानी, सुन खानी, तामा खानी, मिनरल, खनिज अनि अरु बहुमुल्य स्रोत अनि साधन रहेको हाम्रो देश गिनिज बुकमा धेरै शीर्षकमा अदितीय दर्ज भएको छ यसले हाम्रो शान, मान अनि प्रतिष्ठा विश्वसामु उच्च बनाएको छ ।
पवित्र भूमि, शान्त भूमि, सुरम्य अनि योग र आराधना गर्न अनि मानसिक शान्तिको लागि विश्वले एक पटक सम्झिनै पर्ने, हेर्नेपर्ने अनि घुम्नैपर्ने स्वर्गको टुक्रा समान हाम्रो देश हाम्रो गौरब ।
खोज विज्ञान अनि आविस्करका पिता भनिने ऋषि मुनिहरुले तपस्या गर्ने तपोभूमि, साधकहरुले साधना गर्ने एकान्त भूमि अनि हरेकको दिल खुशी बनाउन सक्ने चमत्कारिक पुण्य भूमि धन्य नेपाल अनि धन्य नेपाली जनता जातीयताको नाममा, धर्मको नाममा वर्णको नाममा, भोकमरीको नाममा, शक्ति प्रदर्शनको नाममा, स्वतन्त्रताको नाममा, अर्थको नाममा अरु देशहरुमा कति भयंकर युद्दहरु छेडिय,कति ज्यान मरे कति धनको नास भयो तर आज सम्म नेपालमा त्यस्तो विध्वस कहिलेपनि भएन अनि रगतको खोलो बगेन विश्वले शान्तिको पाठ सिक्न नेपाल आउनु पर्छ अनि नेपालीको संगत गर्नु पर्छ ।
रोहण झमक्क साँझ परेको पत्ता पाउदैन,गोधुली साझको सन्ध्याकालीन झ्याउकिरीको गितसंगै उसको एकाग्रता अनि मौनता भंग हुन्छ । सन्ध्या पूजाको आराधना,घन्टा र संखको कर्ण प्रिय आवाज अनि साँझ बत्तिको सुगन्धले उसको दश बर्ष देखिको पिनास खुलेको महसुस हुन्छ,साथै तलतिरको बस्तीमा फुलेको रातकी रानी फुलको मगमग बासना लिदै त्यहि बस्त तिर आफ्ना पाइला लम्काउछ ।
पूर्णिमाको जुनेली रात, चन्द्रमाको सितल र लोभ्याउने प्रकाश नजिकैको ठूलो सिमलको टुप्पोमा बसेर कराउने हुचीलको टुहुटुहु आवाज, नजिकैको बासघारीमा आश्रय लिएका रुपिहरुको चिरबिर अनि बरको हागामा रमाइरहेका चखेवाको जोडीको मायाजाल, चापको पोथ्रामा रात बिताउन चढेका कालिजहरुको ताती अनि बस्तीमा भुकिरहेका कुकुरहरुको आबाज वर्णन गर्न शब्दहरु हिचकिचाउछन् अनि लेख्न कलमको निवमा मसि सकिन्छ,क्यामेरामा बिम्ब उतार्न मधुरो चन्द्रमाको प्रकाशले साथ दिदैंन, त्यसैले उ मन र मष्तिस्क भरि अलौकिक छाप बटुल्छ, अनुपम अनुभूति संकलन गर्छ र हृदयको मेमोरी कार्डमा अटाइनअटाइ संग्रह गर्छ । फेरिपनि आउने बाँचा गर्दै अनि बिदाइ सुचक हात हल्लाउदै सुस्त पाइलाहरु अघि बढाउछ ।
(लेखक खत्री सरस्वती मावि मात्तिम खोटाङका शिक्षक हुन । )